बालकुमारी प्रकरणका लागि समिति गठन, दुईको ज्यान गयो

काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनपछिको भडपमा दुईजनाको मृत्यु भएको छ ।

शुक्रबार ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीसँगको झडपमा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दैलेखका २३ वर्षीय सुजन रावत र डोटीका २२ वर्षीय वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिएका छन् । रावतको किष्ट कलेज र शाहको पाटन अस्पतालमा मृत्यु भएको छ ।

उनले प्रदर्शनको क्रममा घाइते भएकाको उपचारका क्रममा निधन भएको बताए । दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साहको मृत्यु भएको हो ।

प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजनी गरेका थिए । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनीसमेत गरेका थिए ।

यसैबीच, गृह मन्त्रालयले शुक्रबार ललितपुरको बालकुमारी क्षेत्रमा भएको प्रदर्शन, तोडफोड र आगजनीको विषयमा छानबिन गर्न समिति गठन गरेको छ ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो ।

समिति सदस्यमा जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक वासु सिग्देल सदस्य रहेका छन् ।

छानबिन समितिलाई सत्यतथ्य पत्ता लगाएर सात दिनभित्र प्रतिवेदन मन्त्रालयमा पेश गर्न कार्यादेश दिएको छ ।

शुक्रबार बिहान ललितपुर महानगरपालिका ८ बालकुमारीमा कोरियन भाषा परीक्षा (इपिएस) फारम भर्न जम्मा भएका व्यक्तिले प्रदर्शन, तोडफोड, आगजनी गर्दा प्रहरीले स्थिति नियन्त्रणमा लिनेक्रममा दुई जनाको मृत्यु भएको छ ।

प्रदर्शनपछि भएको आर्थिक, भौतिक एवम् मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै गृह मन्त्रालयले छानबिन समिति बनाएको हो ।

गृह मन्त्रालयले संयम अपनाएर शान्ति कायम गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

Published : Friday, 2023 December 29, 8:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया