सभापति यादवले पोखरा विमानस्थलको काण्डको ‘चिहान ओखल्ने’, प्रदीपलाई ठूलो तनाब

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको योजना बनाउनेलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरण को २५औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभापति यादवले घाटा र नाफाको कुरै अध्ययन नगरी पोखरा विमानस्थल बनाउने निर्णय गर्नेहरुलाई कारबाही गर्ने बताएका हुन् ।

उनले अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा कुनै दीर्घकालीन योजनाबिना विमानस्थलमा अर्बौंको लगानी गराउनेलाई कारबाही गर्न आवश्यक रहेको बताए ।

सभापति यादवले बिना योजना विमानस्थलमा अर्बौं लगानी गराउनेहरु विमानस्थल चलेन भनेर उम्कन नपाउने बताएका छन् । उनले योजना बनाउने सबै जना दोषीको भागिदार हुनुपर्ने बताए ।

यादवले कुनै पनि लगानी बिना लक्ष्य, उद्देश्य र बिजनेस बिना गर्न नहुने भन्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जस्तो दीर्घकालीन परियोजना हचुवाको भरमा बनाउनुको पछाडि स्वार्थ रहेको भन्दै समितिले अध्ययन गर्ने बताए।

पोखरा विमानस्थलको सम्पूर्ण फाइलहरु समितिले मगाएको भन्दै फाइलहरुको यथार्थ छानबिन गरी दोषीलाई कारबाही गरिने उनले चेतावनी दिएका छन् ।

सभापति यादवले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललेसमेत बिजनेस गर्न नसकेको बताएका छन् ।

उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई देखाएर निजगढ विमानस्थल बनाउन नदिने खेल भइरहेको बताएका छन् ।

विकास विरोधी र मधेश विरोधी चिन्तन भएकाहरु काठमाडौंको पाँचतारे होटलमा बसेर निजगढ विमानस्थल बनाउन नहुने बहस भइरहेको उनले आरोप लगाएका छन् ।

उनले नेपालको हवाई उडान क्षेत्रको विकास गर्न सके मुलुकको जिडिपीमा सबैभन्दा बढी योगदान दिनसक्ने बताएका छन् ।

नेपाललाई आर्थिक रुपमा समृद्ध, अन्तर्राष्ट्रिय रुपमा सम्मान जनक ब्राण्डिङ र बेरोजगारीको समस्या समाधान गर्नको लागि हवाई क्षेत्रमा विकास गर्न जरुरी रहेको उनले बताएका छन् ।

पोखारा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने क्रममा आयोजना प्रमुख प्रदीप अधिकारी थिए । अधिकारी हाल नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक छन् । अधिकारीलाई सभापति यादवको अभिव्यक्तिले सातो गएको छ ।

Published : Friday, 2023 December 29, 7:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया