काम गर्न आएको हुँ, परिणाम निस्कने गरेर काम गर्छु : मन्त्री रोज राणा

चन्द्रौटा । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले आफू परिणाम निस्कने गरेर काम गर्न आएको बताएका छन् ।

शुक्रबार कपिलवस्तुको चन्द्रौटामा महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राणाले उद्योगी, व्यवसायीसहित सर्वसाधारणको काम गर्नकै लागि आएको बताए । उनले मन्त्री बनेको एक हप्ता नहुँदै सबैले समस्या मात्रै देखाएको भन्दै सबै कुरा बुझेर काम गर्दै जाने बताएका चन् ।

उनले भने, ‘कुरा सुन्दा मन्त्री बन्नु नै सबैभन्दा ठूलो समस्या हो कि भन्ने भइसक्यो । मन्त्री भएको एक हप्ता भएको छैन । मन्त्री बन्नु समस्या हो कि जस्तो कुरा आइसक्यो ।’

‘उद्योग वाणिज्य संघका केन्द्रीय सदस्यहरुको कुरा सुने । धेरै कुरा ठीक होलान् । धेरै कुराको जानकारीमा म छैन’, उनले भने, ‘एउटा मेलामा हामी तीन घण्टा अतिथिको आसनग्रहण गर्छौं । पाँच घण्टा एउटा मन्त्रीलाई ल्याएर राख्छौँ भने विकास कसरी हुन्छ ? हामीबाटै सुध्रिनु जरुरी छ ।’

उनले भने, ‘उद्योगी व्यवसायीहरुका समस्या छन् । म पनि उद्योगी भएर यहाँसम्म आएको हुँ । समस्याहरु समाधान गर्ने मेरो प्रमुख दायित्व हो । कपिलवस्तुबाट लाइसेन्सका लागि बुटवल जाने स्थिति अन्त्य गर्ने अवस्था सिर्जना गर्न सकियो भने धेरै राम्रो हुन्थ्यो भन्ने कुरा भएको छ ।’

‘उद्योगी साथीहरुलाई बोलाउँछु । छलफल गरेर मन्त्रालय र मन्त्रीले गर्ने काम राम्रो सुझाव दिनुभयो भने म खुट्ट नकमाएर गर्नेछु’, उनले भने ।

बिजुलीको रकम नतिरेपछि बिजुलीको लाइन काटिने कुरा स्वभाविक भएको उनले बताए । ‘चन्द्रौटामा तीन वटा उद्योगको बिजुली काटिएको छ भन्ने कुरा सुनिएको छ । अब बिजुली के कारणले काटियो ? भन्ने कुरा यहाँहरुलाई थाहा होला । बाँकी पैसा नतिरेर काटियो होला’, राणाले भने ।

‘त्यसलाई दिने सहुलियत के हो ? त्यो दिने हो । बिजुली त्यतिकै आएर काटिदिएको छभने कारबही हुनुपर्छ । राज्यलाई तिर्नुपर्ने पैसा तिर्नुपर्छ’, मन्त्री राणाले भने ।

‘त्यो कर तिर्ने सिस्टममा मिलाउनुपर्ने भए मिलाउँला । अरुलाई मात्रै दोष दिने कार्यको अन्त्य गर्नुपर्छ’, मन्त्री राणाले भनेका छन् ।

Published : Friday, 2023 December 29, 7:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया