प्रधानमन्त्रीद्वारा मन्त्रीहरूलाई फालेर नयाँ नियुक्तिको तयारी, डेन्जर जोनमा को-को ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले केही मन्त्रीहरूलाई हटाएर नयाँ मन्त्रीहरू नियुक्तिको तयारी गरेका छन् ।

कार्यसम्पादन राम्रो गर्न नसकेका मन्त्रीहरूलाई हटाउने अन्तिम तयारीमा प्रधानमन्त्री दाहाल रहेका छन् । पहिलो चरणमा नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरू परिवर्तन हुनेछन् । त्यसपछि नेपाली कांग्रेस र अन्य साना दलका मन्त्रीहरू पनि परिवर्तन हुनेछन् ।

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले प्रधानमन्त्रीले केही दिनभित्र पुरानालाई हटाएर नयाँ मन्त्रीहरू नियुक्ति गर्न लागेको बताएका छन् । बिहीबार बिहान नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता विश्वकर्माले भने, ‘प्रधानमन्त्रीज्यूले केही दिनभित्रै मन्त्रीहरूलाई हटाउने र नयाँलाई जिम्मेवारी दिनुहुनेछ ।’

प्रधानमन्त्री दाहालले आफ्नो सार्वजनिक अभिव्यक्तिहरूमा केही मन्त्रीलाई हटाएर नयाँलाई जिम्मेवारी दिने तयारी गरेको बताइसकेका छन् ।

माओवादीका उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतको मन्त्री पद बच्न सक्ने सम्भावना छ । बस्नेतले राम्रो काम गरेको प्रधानमन्त्री दाहालको बुझाइ छ ।

सबैभन्दा झुर काम गर्ने सूचीको पहिलो नम्बरमा सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्मा रहेकी छिन् । शर्मालाई फालेर राम्रो काम गर्न सक्ने सांसदलाई मन्त्री बनाउने तयारी छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती पनि डेन्जर जोनमा छन् । किराँतीलाई हटाउन नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सबै शक्ति लगाएका छन् ।

उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि पद धरापमा छ । गठबन्धनलाई भत्काउन ठूलो भूमिका खेलेको आरोप श्रेष्ठमाथि छ ।

कांग्रेसका मन्त्रीहरूलाई तत्काल नचलाउन सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दाहाललाई आग्रह गरेका छन् । राष्ट्रिय सभाको निर्वाचन अगाडि कांग्रेसका मन्त्रीहरूलाई चलाइनेछैन ।

Published : Thursday, 2023 December 28, 7:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया