अर्थमन्त्री डा.महत र मन्त्री राणाबीच भेटवार्ता, लुम्बिनी र प्यूठानलाई बजेट बढाइदिने आश्वासन

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतसँग लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले भेटवार्ता गरेका छन् ।

बुधबार सिंहदरबारमा मन्त्री राणाले अर्थमन्त्री डा.महतसँग भेट गरेर लुम्बिनी प्रदेश सरकारको बजेट वृद्धि र आफ्नो गृहजिल्ला प्यूठानको विकासका विषयमा परामर्श गरेका छन् । त्यस क्रममा डा.महतले राणालाई मन्त्री पदको शपथ लिएर कार्यभार सम्हालेको विषयमा बधाइ तथा शुभकामना पनि दिएका छन् ।

अर्थमन्त्री डा.महतले लुम्बिनी प्रदेशका जिल्लाहरूको विकासमा केन्द्र सरकारले आवस्यक पर्ने बजेट दिन तयार रहेको आश्वासन दिएका छन् । मन्त्री राणाले भने, ‘अर्थमन्त्री डा.प्रकाशशरण महतज्यूले लुम्बिनीको विकासमा निकै चासो देखाउनुभएको छ । बजेटमा पनि सहयोग गर्ने प्रतिवद्धता दिनुभएको छ । प्यूठानको विकासमा पनि बजेट दिएर सहयोग गर्ने आश्वासन दिनुभएको छ ।’

बाग्दुला–भीमगिठे सडक खण्डका विषयमा पनि अर्थमन्त्री डा.महतले लुम्बिनी प्रदेशका यातायात व्यवस्थामन्त्री राणासँग चासो राखेका थिए ।

यातायात व्यवस्थामन्त्री राणाले प्यूठानको बाग्दुलादेखि बागलुङको भीमगिठे सडकका विषयमा पनि परामर्श गरेका छन् । यो सडक निर्माणका लागि भारत सरकारले सहुलीयत ऋण दिएको छ ।

सडक निर्माणका लागि ईच्छुक निर्माण कम्पनीहरूसँग प्रावधिक सूचीका लागि ४५ दिनको सूचना जारी गर्ने तयारीमा रहेको अर्थमन्त्री डा.महतले यातायात व्यवस्थामन्त्री राणालाई गराएका छन् ।

बाग्दुलादेखि भीमगिठे सडक निर्माण भएमा त्यो क्षेत्रका जनताले यातायातमा सहज आवतजावत गर्न पाउने अपेक्षा लिएको यातायात व्यवस्थामन्त्री राणाले बताएका छन् ।

Published : Wednesday, 2023 December 27, 9:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया