न्यायको कुर्सीमा बसेर अपराध गर्ने तीन न्यायाधीहरू, कुर्सी फुत्कियो, अब कारबाही

काठमाडौं । न्याय परिषदले विवादित जिल्ला न्यायाधीशहरू राजकुमार कोइराला, अम्बिका निरौला र परशुराम भट्टराईलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश डा.आनन्दमोहन भट्टराईको अध्यक्षतामा समिति गठन भएको समितिले तीन जनालाई कारबाहीको सिफारिस गरेको थियो ।

आइतबार बसेको न्याय परिषदको बैठकले तीन जना जिल्ला न्यायाधीशहरूलाई कारबाहीको सिफारिस गरेको स्रोतले जनाएको छ ।

हालसम्मको अध्ययनले जिल्ला अदालतका ३ न्यायाधीशमा गम्भीर विचलन देखिएको ठहर भएको छ ।

परिषदले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र रजिस्ट्रार निर्मला पौडेल भट्टराईलाई उच्च अदालतको न्यायाधीशमा नियुक्ति गरेको छ ।

परिषदमा परेका उजुरी र यसअघि प्रारम्भीक छानबिन भइसकेका प्रतिवेदनका आधारमा कारबाही अगाडि बढेको छ ।

गत वर्ष असारमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले कानून व्यवसायी रुद्र पोखरेलसँग २ करोड रुपियाँ घुस डिल गरेको अडिओ सार्वजनिक भएको थियो । कोइरालालाई निलम्बनमा राखेर जाँचबुझ थालिएको थियो ।

काठमाडौं जिल्ला अदालतकै अर्का न्यायाधीश अम्बिकाप्रसाद निरौलाले पर्याप्त आधार र प्रमाण भेटिँदासमेत अपहरण मुद्दाका अभियुक्तलाई सफाइ दिएको मुख्य आरोप छ । निरौलाले अपहरणका अभियुक्त सोले कुमार भनिने दुर्गाबहादुर बुढाथोकीलाई अर्कै व्यक्ति भन्दै २०७८ असोजमा सफाइ दिएका थिए ।

बुढाथोकी काठमाडौंको भ्याली कोल्डस्टोरका सञ्चालक बाबुराजा रावल अपहरण गरेको अभियोगमा पुर्पक्षका लागि ८ महिनादेखि थुनामा थिए ।

भट्टराईले धनुषा जिल्ला अदालतमा रहँदा न्यायाधीश परशुराम भट्टराईले व्यक्ति हत्याको आरोप लागेका अभियुक्तलाई सफाइ दिएको विषय विवादित छ ।

Published : Monday, 2023 December 25, 9:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया