कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र समझदारी र एकताको खाँचो छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन पार्टीभित्र समझदारी र एकताको खाँचो रहेको बताएका छन् ।

सोमबार दमौलीमा नेपाली कांग्रेस तनहुँको जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, ‘पार्टीलाई बलियो बनाएर अघि जानुपर्छ ।’

उनले भने, ‘तब मात्र देशको ठूलो र शक्तिशाली पार्टी बन्न सकिन्छ ।’ पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले गठबन्धनको बचाउ पनि गरेका छन् ।

अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत आउने अवस्था नरहेकाले चुनावमा गठबन्धन गरेर जानुपरेको उनले बताएका छन् ।

‘संविधान समावेशी छ । संविधानका कारण एउटै पार्टीको बहुमत आउँदैन’, देउवाले भने, ‘गठबन्धन गरेर जाँदा कांग्रेस ठूलो शक्तिका रूपमा निर्माण गर्न सकिन्छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताएका छन् । उनले गणतन्त्रको विकल्प नभएको बताएका छन् ।

सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनका लागि दलहरूका बीच सहमति र सहकार्यको आवश्यकता रहेको बताएका छन् ।

उप–सभापति एवम् कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङले सहमति, सहकार्य र समझदारी अहिलेको आवश्यकता रहेको बताएका छन् ।

उनले देशको प्रमुख समस्या अशिक्षा, गरिबी र भ्रष्टाचार भएको बताउँदै यसको अन्त्यका लागि कांग्रेस, एमाले र माओवादी मिल्नुपर्ने बताएका छन् ।

Published : Monday, 2023 December 25, 6:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया