म अरुले जस्तो खान, पिन, लिन, दिन मन्त्री बन्न आएको होइन, कारबाही हुन्छ : मन्त्री राणा

देउखुरी । लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा यातायात व्यवस्थामन्त्री रोज राणाले कर्मचारीहरुसँग काँधमा काँध मिलाएर काम गर्न आएको बताएका छन् ।

आइतबार देउखुरीको मसुरियास्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै राणाले कर्मचारीसँग मिलेर काम गर्ने बताए ।

उनले भने, ‘म आएको बेला मलाई सिकाउनुस् । म तपाईहरुको काँधमा काँध जोडेर काम गर्न तयार छु । धेरै कुरा म गर्दिन ।’

‘नेता र कर्मचारीले देश विगारेको भन्छन्’, मन्त्री राणाले भने, ‘कसैले पनि सोर्स लगाउने । फोर्स लगाउने । कहाँ फोन गराउने । के गराउने ? फोन गराउनुभयो भने उतिखेरै, मैले आफूले कानून बमोजिमको कारबाही गर्छु ।’

उनले भने, ‘मलाई अरुले जस्तो यहाँ खान, पिन, लिन, दिन आएको छैन । काम गर्नुस् । यहाँहरुको कामको परफरमेन्स हेरेर काम गरिनेछ ।’

‘सोर्सफोर्स र फोनको घण्टी आउनुभन्दा पहिले कारबाही गर्छु । मलाई हात जोड्ने, गुलामी गर्ने होइन’, मन्त्री राणाले भने, ‘मसँग यस्तो काम गरौँ भनेर आड दिनुस् मैले तपाईहरुसँग सिक्ने हो ।’

मन्त्री राणाले आफू जस्ता धेरै मन्त्री आएको भन्दै विगतका मन्त्रीलाई जस्तो आफूलाई तुलना नगर्न सुझाव दिएका छन् । उनले भने, ‘तपाईहरुले म जस्ता मन्त्री कति कति फेर्नुभयो । म तपाईहरुसँग काम गर्न चाहन्छु ।’

प्यूठानबाट लुम्बिनी प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसबाट निर्वाचित भएका राणालाई आइतबार प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

Published : Sunday, 2023 December 24, 11:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया