पैदल यात्राले शान्ति र अहिंसाको सन्देश प्रवाह : उपाध्यक्ष डा. लामा

लुम्बिनी । सधैं अर्काको समाचार लेख्ने पत्रकारहरुले शुक्रबार पर्यटन प्रवद्र्धन र विश्वशान्तिको सन्देश दिने उदेश्यले भैरहवादेखि बुद्धजन्मस्थल लुम्बिनीसम्म बौद्ध सञ्चार पैदल यात्रा गरेका छन ।

लुम्बिनी प्रेस क्लवबको आयोजनामा भैरहवादेखि लुम्बिनीसम्म २२ किमि पैदल यात्रा गरिएको हो । करिव ४ घन्टा पैदल हिँडेर लुम्बिनी मायादेवी मन्दिर पुगेका पत्रकार सहितको टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले स्वागत गरे ।

उपाध्यक्ष डा.लामाले बौद्ध संचार यात्राले विश्वमाझ शान्ति र अहिंसाको सन्देश प्रवाह गरेको बताए । उनले पत्रकारहरुले भैरहवादेखि बुद्धजन्मस्थल लुम्बिनीसम्म पैदल यात्रा गरेर विश्वभरका शान्ति, अहिंसाको सन्देशसँगै पर्यटन प्रवद्र्धनमा ठूलो योगदान दिएको बताए ।

‘संचार क्षेत्र यस्तो शक्ति हो, जसले छिनभरमै विश्वमाझ सन्देश दिनसक्छ, हो आज त्यही सन्देश संसारभर फैलिएको छ । शान्तिमार्गीलाई लुम्बिनी आउन, पदयात्रा गर्न प्रेरणा मिलेको छ’, उनले भने । उनले पदयात्रा बुद्ध जीवनीसँग मेल खाने भएकाले लुम्बिनी आएर पदयात्रा गर्न विश्व समुदायलाई आह्वान गरे ।

उनले भगवान बुद्ध लुम्बिनीमा जन्मिनु नै नेपाली र विश्वभरका बौद्धमार्गी र शान्तिप्रेमीहरुलाई खुशीको कुरा भएको जनाए । उनले भगवान बुद्ध लुम्बिनीमा जन्मिनु नै नेपाली र विश्वभरका बौद्धमार्गी र शान्तिप्रेमीहरुलाई खुशीको कुरा भएको जनाए ।


‘अब अर्का बुद्ध जन्मिने सम्भावना छैन, लुम्बिनी अरु कसैले बनाउन पनि सक्दैन, त्यसैले शान्ति खोज्नेहरुका लागि यो एउटा उद्गम थलो हो’, उनले भने, ‘आजका जस्ता कार्यक्रमले लुम्बिनीमा सबै धर्ममा आस्था राख्नेलाई गोलबद्ध गर्नसक्छ, लुम्बिनी ल्याउन सक्छ ।’

उपाध्यक्ष डा.लामाले अब यस्ता पदयात्रा तिलौराकोट, देवदह, रामग्राम लगायतका बौद्धस्थलहरुमा पनि हुनुपर्ने जनाए । यसका लागि विकास कोषले आवश्यक सहयोग र सहकार्य गर्ने जनाए । उनले लुम्बिनी विश्वभर रहेका अर्ब बढी बौद्धमार्गीको आस्थाको केन्द्र र संसारभरका सबै मानिसको साझा थलो रहेको बताए ।


रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बुद्धले बुद्धत्व प्राप्त गर्न जाँदा र शान्तिको सन्देश दिँदा हिँडेरै दिएको भन्दै लुम्बिनीमा पदयात्रा र आध्यात्मिक कार्यक्रम धेरैभन्दा भेरै हुन जरुरी रहेको बताए । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्धले पैदल हिँडेर आफ्नो ज्ञान र सन्देश बाँडेको बताउँदै त्यसैलाई पत्रकारहरुले अनुसरण गर्नु सकरात्मक भएको बताए ।

२२ किलोमिटर लामो मौन पदयात्राले शान्ति, अहिंसा र आध्यात्मिकताका लागि विश्वभर सन्देश पैदा गरेको क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझीले बताए ।


‘यहाँमात्रै नभई विश्वभर मानिस स्वार्थी बनेको छ, हत्याहिंसा, आतंक र द्वन्द्वमा लागेको छ, त्यसैले शान्तिमार्गीहरु लुम्बिनी आउनुपर्छ, यहाँबाट विश्व शान्त छ भन्ने सन्देश दिनुपर्छ र शान्तिको बाटो अवलम्बन गर्नुपर्छ भन्ने नै हाम्रो उद्देश्य हो’, उनले भने ।

Published : Friday, 2023 December 22, 7:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया