मधेश कांग्रेसले सभापतिको शान बढायो, शेखरको अहँकारले गगनसँग दुरी बढ्यो, निधि सुध्रिएनन्

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेशले शक्ति प्रदर्शनसहित प्रथम मधेश सम्मेलन २०८० शानदार रुपमा उद्घाटन गरेको छ ।

सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथिका रुपमा बोलाएर मधेश कांग्रेसले बिहीबार जनकपुरधाममा सम्मेलनको उद्घाटन गराएको हो । सम्मेलनमा करीव दश हजार नेता, कार्यकता र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । मधेश कांग्रेसका सभापति कृष्णप्रसाद यादवले उद्घाटन कार्यक्रमलाई कोठा (हल)भित्र गरेका छैनन् । सभापति यादवले सम्मेलनको उद्घाटन खुला मैदानमा गरेर सबैलाई छक्कै पारेका छन् ।

सभापति देउवाले पनि मधेश कांग्रेसको कार्यक्रम र तयारी देखेर खुसी व्यक्त गरेका छन् । देउवाले मधेश कांग्रेसका सभापति र कार्यसमितिलाई विशेष धन्यावाद दिएका छन् । मधेश कांग्रेसले सभापति देउवाको इज्जत बढाएको छ । देउवा जनकपुरधामबाट निकै खुसी भएर काठमडौं फर्किएका छन् ।

यसअघि भएका लुम्बिनी कांग्रेस र गण्डकी कांग्रेसले कोठा (हल)भित्र सीमित प्रतिनिधिहरुलाई बोलाएर कार्यक्रम गरेका थिए । त्यसमा पनि शेखर कोइराला र गगन थापाको गुटको झल्को दिने गरेर गतिविधि भएका थिए । सभापति देउवाको मानमर्दन हुने गरेर लुम्बिनी कांग्रेसका सभपाति अमरसिंह पुन र गण्डकी कांग्रेसका सभापति शुक्रराज शर्माले कार्यक्रम बनाएका थिए । शेखर र गगन समूहले लुम्बिनी र गण्डकीमा देखाएको हर्कतले कांग्रेसका शुभेच्छुकहरुको शीर निहुराएको छ ।

मधेश कांग्रेसले अभिभावक समेत समेत रहेका पार्टी सभापति देउवालाई निकै ठूलो सम्मान दिएको छ । पार्टी पद्धतिमा काम गर्ने हो भने सभापतिलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश मधेश कांग्रेसका सभापति यादवले दिएका छन् । देउवा व्यक्ति होइन, कांग्रेस पार्टीको अभिभावक र सभापति हो । घरको मुली अर्थात् सभापतिको सम्मान गर्न सकियो भने मात्रै कांग्रेसको सम्मान बढ्छ ।

मधेश कांग्रेसको सम्मेलनमा सभापति देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रवक्ता तथा अर्थमन्त्री डा.प्रकाशशरण महतलगायतका नेताहरु सहभागी रहेका थिए ।

नेता शेखर कोइरालालाई बोलाइए पनि उनी मधेश कांग्रेसको सम्मेलनमा आएनन् । घमण्ड र अहँकारले गर्दा शेखर मधेश कांग्रेसको सम्मेलनमा नआएर सुनसरी जिल्लामा गुटको कार्यक्रम राखेर त्यसलाई बिहीबार सम्बोधन गरेका छन् । शेखरको कार्यक्रममा करीव १ सय जना कार्यकर्ताको उपस्थिति रहेको थियो ।

मधेश कांग्रेसको सम्मेलनमा नेता विमलेन्द्र निधिले पनि आफ्नो औकात देखाएका छन् । सम्मेलनमा सहभागी भए पनि मञ्चमा बस्न मानेनन् । आफूलाई उचित वरीयता नदिएको भनेर निधि दर्शक दीर्घामा बसेका थिए । गृहमन्त्री बनेका बेला सभापति देउवाको निर्देशन विपरितका गतिविधि गरेका निधिले फेरि सभापति देउवाको अपमान हुने हर्कत देखाएका छन् । निधि सुध्रिएका छैनन् । अरु बेला जे भए पनि सभापति देउवा उपस्थित भएको कार्यक्रममा निधिले औकात देखाउनु हुँदैन थियो ।

मधेश कांग्रेसको सम्मेलनमा महामन्त्री गगन थापा सहभागी भएका पनि उनकै गुटको नेता शेखर कोइराला आएनन् । शेखरले दोस्रो वरीयता मागेका थिए । पार्टीको विधानमा नै नरहेको वरिष्ठ नेताको पद मागेर शेखर कोइरालाले आफ्नो औकात देखाउँदै आएका छन् ।

मधेश कांग्रेसमा शेखर कोइराला नआएपछि गगन र शेखरबीच झन् दुरी बढेको छ । शेखर नआएको सम्मेलनमा गगन सहभागी भएर शेखरलाई चुनौती दिएका छन् । गगनले शेखरलाई नेता मान्न सक्दैनन् भन्ने सन्देश दिएका छन् ।

शेखर कोइराला निकटका हुतिहारा रञ्जित कर्ण जस्ता नेताहरुले पनि आफूलाई औकातभन्दा तल नै राखेका छन् । जनताबाट कहिल्यै अनुमोदन हुन नसक्ने रञ्जित कर्णहरुले सभापति देउवाको सम्मान गर्न सकेनन् ।

Published : Thursday, 2023 December 21, 11:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया