मन्त्रीलाई पुसभित्रै फाल्ने, प्रदीपले खसी ढाल्ने, नयाँ भवन र हेलिप्याडमा घोटालाको आशंका

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले स्वार्थ बाझिएपछि ठूलो शक्ति लगाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव भरतमणि सुवेदीलाई हटाएको रहस्य बाहिर आएको छ ।

मन्त्रालय निकट उच्च स्रोतका अनुसार सचिव सुवेदीले प्राधिकरणभित्रका अनियमितता र महानिर्देशक अधिकारीको निरंकुशतासहितको हर्कतविरुद्ध कडाइ गरेपछि सुवेदीलाई अधिकारीले शक्ति लगाएर सरुवा गराएका हुन् । सुवेदी मन्त्रालयबाट सार्वजनिक खरिद अनुगमनको कार्यालयमा सरुवा भएका छन् ।

उता, प्राधिकरणको सिनामंगलमा नयाँ भवन बनेको छ । भवन बनाउन करीव २ अर्बको बजेट छुट्याइएको थियो । महानिर्देशक अधिकारीले भवनको लागत बढाएर सात अर्ब पुर्‍याएका छन् । भवन बनाउँदा महानिर्देशक अधिकारीले काठमाडौं महानगरपालिकासँग नक्सा पास गराएका थिएनन् । भवन बनाउँदा आवस्यक पर्ने प्रक्रिया पनि पूरा गरेका छैनन् ।

महानिर्देशक अधिकारीले भक्तपुरमा हालै परीक्षणमा ल्याएको हेलिप्याडको अवस्था पनि खराब छ । हेलिप्याड बनाउने क्रममा आवश्यक कानूनी, प्राविधिक स्वीकृति नलिएको आरोप छ ।

प्राधिकरणको सिनामंगलको भवन र भक्तपुरको हेलिप्याड बनाउने कन्सल्टेन्ट पछिल्लो समय तनाबमा परेको छ । महानिर्देशक अधिकारीको दवावमा काम गरेको कन्सल्टेन्ट फस्ने हो कि भनेर डराएको छ ।

प्राधिकरणको सिनामंगलको नयाँ भवन र भक्तपुरको हेलिप्डा निर्माणका सम्बन्धमा भएको अनियमिततालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परिसकेको छ । सो विषयमा महानिर्देशक अधिकारी, प्राधिकरणका प्रमुख प्रशासकीय अधिकृत फस्ने सम्भावना रहेको चर्चा प्राधिकरणमा छ ।

नक्सा पास अर्थात् अनुमति नलिएर नयाँ भवन सिनामंगलमा बनाएको विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले ठूलो एक्सन लिएका थिए । महानिर्देशक अधिकारी र मेयर बालेनबीच ठूलो विवाद पनि भएको थियो ।

महानिर्देशक अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई पुस महिनाभित्र निकाल्छु भन्दै हिँड्न थालेका छन् । किराँतीको पछिल्लो अभिव्यक्तिका विषयमा महानिर्देशक अधिकारीले न्वारनदेखिको बल लगाएर मिडियाहरुमा प्रचार प्रसार गराएको आरोप छ ।

मन्त्री किराँती जिब्रो चिप्लेर समस्यामा परेपछि बेइज्जत गर्न मिडियाहरुलाई समाचार दिने, गाली गर्न नेताहरु उचाल्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल कहाँ कुरा पुर्‍याएर हटाउन महानिर्देशक अधिकारी जोडतोडले लागेका छन् ।

महानिर्देशक अधिकारीले मन्त्री किराँतीलाई माघ महिना देख्न नदिने घोषणा गरिसकेका छन् । महानिर्देशक अधिकारीले किराँती मन्त्री पदबाट हटेको दिन खसी काटेर भोज ख्वाउँछु भन्दै आएका छन् ।

अधिकारीले एयरपोर्टको ड्युटी फ्री सपको नाममा केही भीआईपीहरुको बेइज्जत गर्न आफूले पालेर राखेका केही मिडियालाई समाचार दिएका छन् । अधिकारीले आफू निकटका मिडियालाई किराँती क्रिश्चियन धर्म प्रचारक हो भनेर समाचार लेखाइरहेका छन् ।

महानिर्देशक पदबाट अधिकारीलाई हटाउन मन्त्री किराँतीले नसकेको भनेर चर्चा भएका छन् । ईयूले कालोसूचीमा राखेको विषयमा महानिर्देशक अधिकारीले झुठो बोलेको भनेर संसदको समितिमा बबाल भइसकेको छ । अधिकारीलाई हटाउनुपर्ने वा आफै राजीनामा दिएर जानुपर्ने भनेर प्राधिकरणको केन्द्रीय कार्यालयमा साना कर्मचारीहरुले छलफल गर्ने गरेका छन् ।

Published : Thursday, 2023 December 21, 10:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया