क्रिश्चियनकाे प्रचार गर्ने माओवादी मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस नेताकाे माग

काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहालकाे ध्यानाकर्षण गराएका छन् ।

नेता भण्डारीले बिहीबार प्रेस नाेट जारी गरेर मन्त्री किराँतीकाे अभिव्यक्ति धार्मिक सद्भाव भड्काउने हिसाबले आएकाे बताए ।

`बुधबार राजधानीमा क्रिश्चियन समुदायद्धारा राजधानीमा आयोजित कार्यक्रममा नेपाल सरकारका संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीद्धारा धार्मिक सद्भाव भड्काउने हिसाबले अभिव्यक्ति व्यक्त गर्नु अत्यन्त खेदजनक रहेको छ´, उनले भने ।

नेपाल सरकारको मन्त्री जस्तो जिम्मेवार पदमा आसिन व्यक्तिबाट व्यक्त अभिव्यक्तिले नेपालको वैदिक सनातन हिन्दू धर्म सस्कृति माथि आघात पुग्ने कार्य भएको छ´, उनले भने, `यस किसिमको खेदजनक अभिव्यक्ति व्यक्त गर्ने व्यक्तिलाई तत्काल मन्त्री पदबाट बर्खास्ती गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यान पुग्नु जरुरुी देखिन्छ ।´

नेता भण्डारीले भने, `नेपाल वैदिक सनातन हिन्दू धर्मालम्बीहरुको मूल थलो भएको तथा वैदिक सनातन हिन्दू धर्म संस्कृति नेपाल र नेपालीको पहिचान भएको हुँदा नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र घोषणा गर्ने विषयमा नेपाल सरकारको जतिसक्दो छिटो ध्यान पुग्नुपर्ने देखिन्छ ।´

`यस विषयमा नेपालका राजनीतिक दल, नागरिक समाज र आम सर्वसाधारणलाई आफ्नो ठाउँबाट सक्दो भूमिका निर्वाह गर्न समेत आग्रह गर्दछु । अन्तमा , वैदिक सनातन हिन्दू धर्म सस्कृति माथि जुन हिसाबले आक्रमण गर्ने खेल भईरहेको छ ।त्यो अन्यन्त निन्दनीय छ । यस विषयमा नेपाल सरकारको विशेष ध्यान पुग्नु पर्दछ´, भण्डारीले भने ।

माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री किराँतीले क्रिश्चियन धर्म नमान्नेहरू संविधान विराेधी भन्दै क्रिश्चियन धर्मको प्रचार गरेका थिए ।

Published : Thursday, 2023 December 21, 1:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया