राज्य व्यवस्थाले प्रधान सेनापतिलाई बोलाएर लियो स्पष्टीकरण

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले काठमाडौं–बारा द्रुत मार्गको काम तिब्रगतिमा अगाडि बढिरहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सेनापति शर्माले द्रुत राजमार्गको काम तिब्रगतिमा भइरहेको बताएका हुन् ।

उनले कोभिड १९, खोकनामा जग्गा खरिद प्रक्रिया हुन नसकेको लगायतका कारणले आयोजना निर्माणमा ढिलाइ भएको भए पनि अहिले कामले गति लिएको बताएका छन् ।

८९ वटा पुलमध्ये ७२ वटा पुलको ठेक्का भैसकेको र बाँकी ठेक्का प्रक्रियामा रहेको जानकारी शर्माले बताएका छन् ।

प्रधानसेनापति शर्माले वातावरणीय मूल्याङ्कन प्रतिवेदन स्वीकृतका लागि बन मन्त्रालयमा दुई वटा प्रतिवेदन पेस भएको बताएका छन् ।

कोभिडले आयोजनाको काम ४ महिना ढिलो भएको, विस्तृत आयोजना स्वीकृत साढे दुई महिना प्रभावित भएको र रुख कटान र जग्गाको भोगाधिकार गत जेठ देखि रोकिएको शर्माले बताएका छन् ।

प्रधानसेनापति शर्माले हाल भारतबाट विस्फोटक पदार्थ आपूर्ति हुन नसके पनि चीनबाट आपूर्ति भइरहेको बताएका छन् ।

द्रुत राजमार्गका विषयमा सेनामाथि प्रश्न उठेपछि समितिका सभापति रामहरि खतिवडाले प्रधानसेनापति शर्मालाई बोलाएर जानकारी लिएका छन् ।

सेनाका विषयमा उठेका विभिन्न बारेमा सदस्यहरूले जानकारी माग गरेका छन् ।

Published : Wednesday, 2023 December 20, 1:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया