दाङमा पैसा असुल्न पुरुष फसाएर धन्दा गर्ने ३ महिलालाई कैद र जरिवाना फैसला

घोराही । जिल्ला अदालत दाङले एक पुरुषलाई परिबन्दमा पारेर १८ लाख रुपियाँ असुलेको आरोपमा तीन महिलालाई डेढ वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको एकल इजलासले तीन जना महिलालाई कैद सजाय सुनाएको हो । दाङका एक पुरुषलाई होटेलमा खाजा खान बोलाएर बलात्कारको मुद्दा हाल्ने धम्की दिँदै १८ लाख रुपियाँ असुलेको आरोपमा अदालतले जनही डेढ वर्ष कैद र जरिवाना गर्ने फैसला गरेको छ ।

घोराही उप–महानगरपालिका–१५ की ३२ वर्षीया सीतादेवी थापालाई डेढ वर्ष कैद र १५ हजार रुपियाँ अदालतले सजाए सुनाएको छ ।

३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियारलाई डेढ वर्ष कैदसँगै जनही १० हजार रुपियाँको फैसला भएको जिल्ला अदालत दाङका श्रेस्तेदार दामोदर घिमिरेले बताएका छन् ।

२०७८ असोज ३ गते पक्राउ परेका उनीहरूले ती पुरुषसँग ५० लाख रुपियाँको बार्गेनिङ गरेका थिए । पछि १८ लाख लिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

महिलाहरूले ती पुरुषबाट १ लाख नगद र १७ लाख रुपियाँको चेक बुझेका थिए ।

महिलाहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ को ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसूरको अभियोग लगाइएको थियो ।

Published : Tuesday, 2023 December 19, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया