विमानस्थलबारे मन्त्री र मुख्यमन्त्री चौधरीबीच कुरा मिल्यो, बुद्ध एयर नोयडासम्म जान तयार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित संचालनका लागि आन्दोलनरत समूहसँग छलफल गरेको छ ।

मंगलबार सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा आयोजित छलफलमा भैरहवास्थित विमानस्थललाई कसरी नियमित गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको हो ।

भैरहवा विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार सिद्धार्थ संजाल रुपन्देहीले विमानस्थल नियमित रुपमा संचालनको माग गर्दै धर्नाका कार्यक्रम गरिरहेको बताए । उनीहरूको माग सम्बोधनका विषयमा मन्त्री किराँती र मुख्यमन्त्री चौधरीले पहल थालेको पाण्डेले बताएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केन्द्र सरकारले बिकेन्द्रीकरणको नीति नलिँदासम्म भैरहवाको विमानस्थल संचालनमा कठिनाइ रहने बताए । संघले अझै पनि राजधानी केन्द्रित काम गर्दा विमानस्थल संचालन आउन नसकेको चौधरीले बताएका छन् ।

मुख्यसचिव डा.वैकुण्ठ अर्यालले सबै सरकारले गर्दछ भनेर बस्न नहुने बताए । सिद्धार्थ संजाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले राजधानीका केही व्यक्तिहरूको दवावका कारण विमानस्थल संचालन हुन नसकेको बताएका छन् ।

बुद्ध एयरका प्रबन्धक वीरेन्द्रबहादुर बस्नेतले भैरहवाबाट नोयडासम्म जहाज संचालन गर्न आफू तयार रहेको बताएका छन् । बस्नेतले रुटको अनुमति पाउने हो भने भारतका शहरहरूमा उडान गर्न तयार रहेको र सरकारले त्यसको सहजीकरण गर्नुपर्ने बताए ।

Published : Tuesday, 2023 December 19, 7:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया