एनआईसी एसिया बैंकका प्रबन्धक जेल चलान

काठमाडौं । एनआईसी एसिया बैंकको राजविराज, सप्तरी शाखामा भएको पौने ३ करोड रुपियाँको घोटाला काण्डका आरोपित तत्कालीन प्रबन्धक सन्तोषकुमार यादवसहित तीन जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

सोमबार सप्तरी जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको इजलाशले राजविराज नगरपालिका–७ का सन्तोष, राजविराज नगरपालिका–९ का मो.सदाम, सप्तरीको रुपनी गाउँपालिका–५ का दीपेन भनिने दीपककुमार सुतिहारलाई पुर्पक्षका लागि राजविराज कारागारमा पठाएको छ ।

सरकारी लिखत कीर्ते गरी संगठित रूपमा ठगी गरेको आरोपमा मंसिर १० गते सन्तोष हाजिर भएपछि मंसिर २० गते सदाम र दीपक पनि अदालतसमक्ष हाजिर भएका थिए ।

वैशाखको दोस्रो साता प्रबन्धक यादव, ऋण अधिकृतसहितका १० जनाविरुद्ध सरकारी कागजात, छाप र हस्ताक्षर कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो ।

माघ २२ गते बैंकमा सरकारी कागजात कीर्ते गरी बनाइएको फर्जी जग्गाधनीलाई स्वीकृत गरिएको दुई करोड ८० लाख रुपियाँमध्ये दुई करोड ३० लाख रुपियाँ ऋण प्रवाह गरेको काण्डको खुलासा माघ २३ गते भएको थियो ।

बैंकका प्रबन्धक यादवसहित बैंकका केही कर्मचारी, व्यवसायी, लेखापढी व्यवसायी र भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अपरेटरहरूको मिलामतोमा राजविराज नगरपालिका–८ का रविन्द्रकुमार यादवको नाममा रहेको प्रसवनी–९ (ग) को कित्ता नम्बर २२१ को १० कठ्ठा ५ धुर जग्गाको कीर्ते जग्गा धनी प्रमाण–पत्र बनाई राजविराज नगरपालिका–९ (तत्कालीन मलेठ गाविस–७) की वसिरन खातुनलाई फर्जी जग्गा धनी बनाइएको आरोप लागेको छ ।

एनआईसी एसिया बैंकमा सरकारी कागजात किर्ते गरी बनाइएको नक्कली जग्गाधनीको ऋण माँगलाई बैंकले स्वीकृत गरेको थियो। नक्कली जग्गाधनी खडा गरी लिएको ऋणकर्जा २ करोड ८० लाख रुपियाँमध्ये २ करोड ३० लाख रुपियाँ ऋण प्रवाह समेत भएको थियो ।

वास्तविक जग्गाधनी रविन्द्रकुमार यादवकाले थाहा पाई घटना बाहिरिएलगत्तै बैंकका प्रबन्धक यादवसहित बैंकका केही कर्मचारी र व्यवसायीहरू तत्काल फरार भएका थिए ।

राजविराज नगरपालिका–८ बस्ने यादवका नाममा रहेको साविक प्रसवनी गाविस–९ (ग) को कित्ता नम्बर २२१ को १० कठ्ठा ५ धुर जग्गाको नक्कली जग्गा धनी प्रमाण–पत्र बनाएका थिए ।

आरोपितहरूले साविक मलेठ गाविस ७ हाल राजविराज नगरपालिका–९ की वसिरन खातुनलाई नक्कली जग्गा धनी बनाएका थिए ।

कीर्ते गरी बनाएको सोही नक्कली जग्गा धनी प्रमाण–पत्रको आधारमा बैंकले रोक्का नम्बर १५१२०९८० एनएल ०००२२९० मा नक्कली जग्गा रोक्का गरेको थियो ।

राजविराजस्थित घरेलु तथा साना उद्योग कार्यालयमा खातुनकै बुहारी आसमा खातुनको नाममा दर्ता रहेको ‘एएस ट्रेडर्स एण्ड सप्लायर्स’लाई बैंकले गत माघ ९ गते सो ऋण प्रवाह गरेको थियो ।

आरोपित राजविराज नगरपालिका–९ का बसिरन खातुन, उनका बुहारी आसमा खातुन, विवेक देव, राजविराज नगरपालिका–२ का मो. समसाद, राजविराज नगरपालिका–७ का दीपेन्द्र यादव, सप्तरीको विष्णुपुर गाउँपालिका–१ का शंकरप्रसाद यादव र सप्तरीको राजगढ गाउँपालिका–१ का रमेशकुमार यादव रहेका छन् ।

Published : Monday, 2023 December 18, 9:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया