चीनले लाखौ खर्च गरेर सांसद र सरकारी कर्मचारीहरूलाई बेइजिङ उडायो

काठमाडौं । चीनले लाखौं रुपियाँ खर्च गरेर प्रतिनिधिसभाका सांसद र संसद सचिवालयका कर्मचारीहरूलाई घुमाउन लगेको छ ।

चीनले सांसद र संसद सचिवालयका कर्मचारीहरूको २० जनाको टोलीलाई सोमबार चीनतर्फ उडाएको छ । टोली दश दिनसम्म चीनमा घुम्नेछ ।

माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली छेन्दु हुँदै बेइजिङ प्रस्थान गरेको संसद सचिवालयले जनाएको छ ।

टोलीमा नेपाली कांग्रेस र नेकपा (एमाले) का पाँच–पाँच, नेकपा (माओवादी केन्द्र)का तीन, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)का एक–एक सांसद सहभागी छन् ।

नेपाली कांग्रेसबाट युवराज शर्मा, रामनाथ अधिकारी, ऐनबहादुर शाही, सरस्वती बजिमय र कुसुमदेवी थापा, नेकपा (एमाले)बाट दामोदर वैरागी, मानवीर राई, निर्मला कोइराला, रुक्मिणी राना बराइली र भगवती न्यौपाने, नेकपा(माओवादी केन्द्र)बाट मुख्य सचेतक पाण्डेसहित जगप्रसाद शर्मा र नारायणी शर्मा रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिशा नेपाली, जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी र नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रमुख सचेतक मेटमणि चौधरी तथा संघीय संसद् सचिवालयका सचिव सुदर्शन खड्का, सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारी छन् ।

चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय व्यापार एकेडेमीको कार्यक्रममा सहभागी गराउने बहानामा चीनले नेपालका सांसदहरूलाई घुमाउन लगेको छ ।

चीनमा रहँदा भ्रमण टोलीले बेइजिङ, नानजिङ र गियाङ शहरसमेत भ्रमण गर्ने कार्यतालिका रहेको छ ।

चीनले नेपालमा आफ्नो प्रभाव पार्न सांसद, नेता, कर्मचारी र व्यापारीहरू लगायतलाई लाखौं रुपियाँ खर्च गरेर घुमाउन लग्ने गरेको छ । नेपालबाट महिनामा कम्तीमा २ सय जनालाई चीनले आफ्नै खर्चमा घुमाउन लग्ने गरेको तथ्याङ्क सरकारसँग छ ।

नेपालमा चीनको ठूलो प्रभाव भइरहेको छ । नेपालमा चिनियाँ नागरिकहरूले अपराध गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । सुन तस्करी, रक्तचन्दन तस्करी, चेलीबेटी चीनतर्फ बेचबिखन आदि जस्ता कार्य भइरहेको आरोप छ ।

Published : Monday, 2023 December 18, 8:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया