असईको हत्या गरेको अभियोग लागेका एमालेका सांसदलाई सफाइ, केहीलाई सजाय

काठमाडौं । नेकपा (एमाले)का निलम्बित सांसद लक्ष्मी महतो कोइरीलाई जिल्ला अदालत महोत्तरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दाबाट सफाइ दिएको छ ।

एमालेका सांसद कोइरीले सशस्त्र प्रहरीका असई थमन बिकको हत्या अभियोग लागेको थियो । कोइरीसँगै अर्का अभियुक्त पवन कापरले पनि सफाइ पाएका छन् ।

सोमबार न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासमा सोमबारदेखि सुनुवाइ भएको थियो ।

असई बिकको हत्या गरेको भन्दै सांसद कोइरीसहित २८ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । सुनुवाइपछि अदालतले कोइरीलार्ई हत्या अभियोगबाट सफाइ दिएको छ ।

२८ जनामध्ये आठजना अभियुक्तलाई भने कर्तव्य ज्यान मुद्दामा जन्मकैद भएको छ । आगो लगाएको मुद्दामा थप छ महिना कैद सजाय भएको छ ।

जन्मकैद सजाय हुनेहरूमा प्रदीप साह माझी, सञ्जय साह, मोहन ठाकुर, शंकर शाही, रामशंकर मिश्र, अबिराम शर्मा, सुरेश पाण्डे र धर्मेन्द्र राय छन् ।

जन्मकैद सजाय पाएका मिश्र जलेश्वर नगरपालिकाका पूर्वमेयर हुन् । अविराम शर्मा मधेश प्रदेश सरकारका पूर्व राज्यमन्त्री तथा मधेश प्रदेश सभा सदस्य हुन् ।

मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते असई बिकको एम्बुलेन्सबाट निकालेर धानबारीमा लगेर हत्या गरिएको थियो ।

प्रहरीको फरार सूचीमा रहेका कोइरी प्रतिनिधि सभासदस्य निर्वाचनमा एमालेको तर्फबाट महोत्तरी–१ बाट निर्वाचित भएका थिए ।

Published : Thursday, 2023 December 14, 10:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया