सम्राट अशोकसँग मेरो भावना र समवेदना जोडिएको छ : प्रधानमन्त्री दाहाल

लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहालले गौतबुद्धको अस्तुधातु रहेको रामग्रामबाट विश्व शान्तिका लागि बुद्धको उपदेशको आवश्यकता रहेको बताएका छन् ।

लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका र द प्रोमिस ल्यान्ड नामक संस्थाको आयोजनामा मंगलबार रामग्राममा आयोजित विश्वशान्तिका लागि दीप प्रज्वलन र रामग्राम क्षेत्रको विकासको दुरगामी योजना शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान समयमा बुद्धका उपदेशहरूको आवश्यकता बढ्दै गएको बताए ।

उनले विश्वका शान्तिका पक्षधरहरूले गौतबुद्धको शिक्षा र उपदेशलाई आत्मसाथ गर्नुपर्ने बताए । ‘मानव जाति रहेसम्म बुद्धको दर्शन र उपदेशको औचित्य र आवश्यकता रहन्छ’, उनले भने, ‘म रामग्रामको पवित्रभूमिबाट शान्तिका लागि विशेष अपील गर्छु ।’

प्रधानमन्त्री दाहालले युद्धबाट शान्तिको सन्देशलाई विश्वव्यापी बनाउने सन्दर्भमा सम्राट अशोकसँग आफ्नो भावना र समवेदना जोडिएको बताएका छन् ।

उनले गौतमबुद्धका शिक्षा र उपदेशलाई महत्वलाई स्थापित गर्न सम्राट अशोकले खलेको भूमिका निकै उच्च रहेको बताए ।

‘मानिसहरूले विभिन्न अर्थ लगाउन सक्छन् । रामग्राम स्तुपको अगाडि उभिएर देशबाहिर र भित्रपनि बुद्धको उपदेशलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्ने दृढता व्यक्त गर्न चाहन्छु’, उनले भने ।

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र संघका महासचिव एन्टिरियो गुटरेससँगै लुम्बिनीबाट गरेको विश्वशान्तिको अपिल व्यवहारिक बनेको समेत बताए ।

‘लुम्बिनी भ्रमणका बेला महासचिवसँगै गरेको विश्व शान्तिको अपिल यूएईमा भएको कोपमा गएर ठोस परिणाममा रुपान्तरण भएको छ’, उनले भने ।

उनले रामग्राम बुद्धको एक मात्र अस्तुधातु रहेको स्थलका रुपमा परिचित रहेको बताउँदै विश्वशान्ति र धार्मिक साँस्कृतिक विकासका लागि भूमिका खेल्ने बताए ।

दाहालले रामग्राम स्तुपमा मध्यान्ह १२ बजेर १२ मिनेटमा विश्वशान्तिका लागि दीप प्रज्ववलन गरेका छन् ।

दाहाले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा बृहत्तर लुम्बिनी क्षेत्र विकास योजना बनाएर लुम्बिनी, रामग्राम र तिलौराकोटलाई जोडेर विश्व शान्ति नगर बनाउने योजना बनाएको बताए ।

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुँदन किराँतीले प्रधानमन्त्री दाहाल र बुद्धका उपदेशलाई विश्वव्यापी बनाउने सम्राट अशोकसँग तुलना गरेका छन् । उनले युद्धबाट शान्तिमा आएको बताए ।

किराँतीले रामग्राम स्तुपलाई १५ सय बर्षअघिको अवस्थाका झल्को दिनेखालका गतिविधि गर्न सकेमा धार्मिक पर्यटकहरूलाई आर्कषित गर्न सकिने बताए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बुद्धको महापरिनिर्माण भएपछि ८ भागमा विभाजन गरिएका स्तुपा मध्येको रामग्रामको मात्रै अस्तिवत्वमा रहेको स्तुपा रहेकाले यसको महत्व अतुलनीय रहेको बताए ।

डा.लामाले रामग्राम स्तुप बुद्धको जीवनको निकै महत्वपूर्ण स्थल रहेकाले यसको बृहत्तर विकासका लागि कोषका तर्फबाट पहल भइरहेको बताए ।

उनले रामग्राम स्तुपबाट विश्वभरका मानवजाती र प्राणीजगतको कल्याणको कामना सहित विश्वशान्तिका लागि लीप प्रज्वलन समेत गरिएको बताए ।

डा.लामाले अहिले लुम्बिनी क्षेत्रको गुरुयोजना निर्माण गरी पूर्वाधार विकास गर्ने योजनाका साथ दुरदर्शी योजनाको शुभारम्भ गरिएकाले सबैलाई सहयोगका लागि अपील गरेका छन् ।

रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले स्थानीय तह संग सहकार्य गरी गुरुयोजनाको काम पूरा गर्नुपर्नेमा बताए ।

भारतीय जनता पार्टीका सांसद राम माधवले नेपाल भूगोलमा सानो भएपनि ऐतिहाँसिक तथा पुरातात्विक स्थलका हिसाबले ठूलो मुलुक रहेको बताए ।

नेपाल–भारतबीच बुद्धकालीन स्थलहरूको सम्बन्ध स्थापित गरी पर्यटनको माध्यमबाट सम्वृद्धि हासिल गर्नुपर्नेमा उनले बताए ।

कार्यक्रममा पतञ्जलि योग पीठ भारतका अध्यक्ष आचार्य बालकृष्ण, विदेशी स्टेफाना, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, द प्रोमिस ल्यान्डका अध्यक्ष निकेश अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
लुम्बिनी विकास कोषले ‘द प्रमिश ल्याण्ड’नामक सस्था संस्था सहकार्य गरी परियोजना अगाडि बढाउने तयारी भएको छ ।

सोमबार साँझ विश्व शान्तिको कामना गर्दै एक हजार ११२ शान्तिदीप क्यान्डिल र ७ हजार दीप प्रज्जवलन गरिएको थियो ।

Published : Tuesday, 2023 December 12, 9:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया