गंगालाल अस्पतालमा मेडिकल सामग्री खरिदमा डा.अधिकारी र डा.कोइरालाको मिलोमतो

काठमाडौं । शहीद गंगालाल हृदय रोग केन्द्र, बाँसबारी, काठमाडौंका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारी र सर्जरी विभागका प्रमुख डा.रामेश कोइरालाले मेडिकल माफियाहरूसँग मिलेर बिचौलियाको काम गरेको आरोप लागेको छ ।

केन्द्रको स्वास्थ्य सामग्री खरिदका लागि डा.अधिकारी र डा.कोइरालाले माफियाहरूसँग मिलेर सेटिङ गरेको आरोप लागेको छ । उनीहरूले यज्ञ भण्डारी, विशाल पण्डित लगायतसँगको मिलोमतोमा स्वास्थ्य सामग्री खरिदका लागि आसय पत्र जारी गरेको आरोप छ । भण्डारी र पण्डित मेडिकल माफियाका रुपमा परिचित छन् ।

केन्द्रले मिति मंसिर २६ गते सूचना जारी गरेर स्वास्थ्य सामग्री खरिदका लागि अनुमति दिएका कम्पनीहरूको नाम सार्वजनिक गरेको छ । तीमध्ये अधिकांश कम्पनी सिन्धुपाल्चोक घर भएका यज्ञ भण्डारीका हुन् । मेडिकल माफियाका रुपमा परिचित धादिङका विशाल पण्डित पनि सूचीमा परेका छन् ।

स्वास्थ्य सामग्री खरिदका लागि थुप्रै व्यापारीहरूले ई–बिड गरेका थिए । तर, तजबिजका आधारमा डा.अधिकारी र डा.कोइरालाले धेरै कम्पनीहरूलाई फालिदिएको आरोप लागेको छ । डा.अधिकारी र डा.कोइरालाको हर्कतविरुद्ध अन्य व्यापारीहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी दिने तयारी गरेका छन् । यज्ञ भण्डारीले लामो समयदेखि केन्द्रमा एकलौटी रुपमा स्वास्थ्य सामग्री आपूर्ति गर्दै आएका छन् । भण्डारीले किन र कसरी लामो समयदेखि एकलौटी रुपमा स्वास्थ्य सामग्री आपूर्ति गर्न सफल भए प्रश्न उठेको छ ।

केन्द्रको सूचनामा ल्याबलाईन ट्रेडर्स प्रालि (रञ्जन भण्डारी), दी मेडिकल सोलुसन प्रालि (विशाल पण्डित), हिमाल मेडिसर्भिस प्रालि (विजय बोहरा/यज्ञ भण्डारीका कामदार), म्याक्स मेडिटेक सिस्टम प्रालि (विमल उप्रेती), सितत्रा ट्रेडिङ प्रालि (सुशान्त भण्डारी/यज्ञ भण्डारीको छोरा), सिन्धु सर्जिकल कन्सर्न प्रालि (यज्ञ भण्डारी) र सन मेडिकल कन्सर्न प्रालि (विनित तुलसीहन) मात्रै परेका छन् । यी कम्पनीहरूले भन्दा राम्रो, सस्तो र गुणस्तरीय स्वास्थ्य सामग्री आपूर्ति गर्ने क्षमता राख्ने कम्पनीहरूलाई कार्यकारी निर्देशक डा.अधिकारी र विभागका प्रमुख डा.कोइरालाले छिर्न दिएका छैनन् । स्वास्थ्य सामग्रीहरूको विषयमा अध्ययन नै नगरेर हचुवाको भरमा डा.अधिकारी र डा.कोइरालाले काइते तर्कसहित धेरै कम्पनीहरूलाई लात हानेर फालेका छन् । यज्ञ भण्डारी र विशाल पण्डितको मात्रै कम्पनी किन छनौट भए ? गम्भीर प्रश्न उठेको छ ।

निर्देशक डा.अधिकारीले अख्तियारको प्रमुख आयुक्त प्रेम राई आफ्नो मान्छे हो भनेर धम्काउँदै आएको आरोप छ । विभागका प्रमुख डा.कोइरालाले आफू नेपाली कांग्रेसका महामन्त्री डा.गगनकुमार थापाको मान्छे हुँ भनेर धम्की दिँदै आएका छन् । डा.कोइरालाले अबको १५ दिनभित्र केन्द्रको कार्यकारी निर्देशक बनेर आउँछु भनेर गफ लगाउँदै हिँडेका छन् ।

नेकपा (एमाले) निकटका निर्देशक डा.अधिकारीको कार्यकाल पुस ८ गते सकिन लागेको छ । केन्द्रको निर्देशकमा डा.अधिकारी दोहोरिने सम्भावना छैन । घर जानुभन्दा अगाडि नै मेडिकल माफियाहरूसँग मिलेर स्वास्थ्य सामग्री खरिदमा सेटिङ गर्न लागेको कर्मचारीहरूले आरोप लगाएका छन् ।

मेडिकल माफियाले ५ देखि १५ प्रतिशतसम्म कमिशन दिने गरेको चर्चा छ । गरिव जनताको अस्पताल भनेर चिनिएको शहीद गंगालाल हृदय रोग केन्द्र, बाँसबारीलाई मागेर कमिशन र भ्रष्टाचार गर्ने केन्द्र बनाउन नहुने आवाज उठ्दै आएको छ ।

कमिशनका लागि केन्द्रका नेतृत्वमा बसेकाहरूले सार्वजनिक खरिद ऐनलाई छल्न दुई करोडभन्दा मुनिको रकमको ई–बिड निकाल्ने गरेका छन् । एकै पटक ई–बिड निकाल्डा कमिशन खान नपाइने र सेटिङ गर्न नमिल्ने भएपछि केन्द्रको नेतृत्वमा रहेकाहरूले चोरबाटोबाट स्वास्थ्य सामग्री खरिद गर्दै आएका छन् । कर्मचारीहरूको यो निच हर्कतप्रति सार्वजनिक खरिद अनुगमन कार्यालयका कर्मचारीहरूलाई निकै राम्रोसँग जानकारी छ ।

डा.अधिकारी र डा.कोइरालाले स्वास्थ्य सामग्री खरिदमा गरेको सेटिङमा सहज रुपमा उन्मुक्ति पाउने छैनन् । उनीहरूविरुद्ध न्यायिक ठाउँहरूमा प्रमाणसहितका उजुरीका लागि जाहेरीहरू तयार भएका छन् ।

कार्यकारी निर्देशक डा.अधिकारी र विभागका प्रमुख डा.कोइरालासँग प्रतिक्रिया लिन केन्द्रको टेलिफोनमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन । धेरै पटक फोन गर्दा पनि फोन उठेन ।

Published : Tuesday, 2023 December 12, 8:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया