प्रधानमन्त्री दाहालले बालुवाटारमा जन्मोत्सव मनाए

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो ६९औँ जन्मोत्सव मनाएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा दाहालले परिवारका सदस्यहरूसँग जन्मोत्सव मनाएको एक सदस्यले बताएका छन् । दाहाल ६९ वर्ष पूरा भई ७० मा टेकेका छन् ।

दाहालको विक्रम संवत् २०११ मंसिर २६ गते कास्कीको तत्कालीन ढिकुरपोखरी गाविस वडा–२ लेवाडेमा जन्म भएको थियो । पिता मुक्तिराम र आमा भवानीका जेठो छोराको रूपमा दाहालले जन्म लिएका हुन् ।

दाहालले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमा नै लिएका थिए ।

दाहालले विक्रम संवत् २०२६ मा चितवनको नारायणी विद्यामन्दिर माध्यमिक विद्यालय शिवनगरबाट एसएलसी उत्तीर्ण गरेका हुन् । २०२७–२०२९ सम्म पाटन बहुमुखी क्याम्पसबाट आईएससी गरेका थिए ।

उनले विसं २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बीएस्सी पूरा गरी एमपीएसम्मको अध्ययन गरेका छन् ।

कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी उनले पुष्पकमल दाहाल नामाकरण गरेका थिए ।

Published : Tuesday, 2023 December 12, 8:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया