राष्ट्रिय सहमतिका आधारमा काम गरौँ : सभापति देउवा

जनकपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमतिका आधारमा संघीयताका बाँकी काम टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन् ।

धनुषाको औरही गाउँपालिका–४ मा सोमबार नेपाली कांग्रेसका पुराना नेता एवं धनुषा निर्वाचन क्षेत्र नं २ का पूर्वसभापति राजकिशोरसिंह राजपुतको शालिक अनावरण गर्दै सभापति देउवाले संघीयतालाई बलियो बनाउन प्रदेशलगायत निकायले उठाइरहेका सवाल सम्बोधन गर्न राष्ट्रिय सहमतिको आवश्यकता भएको बताए ।

देउवाले प्रजातन्त्रका लागि पञ्चायतकालदेखि नै सक्रिय नेपाली कांग्रेसका प्रतिबद्ध नेता सिंहले पार्टी संगठन र परिवर्तनका लागि भएका आन्दोलनमा पुर्‍याएको योगदानको सम्मानका लागि पनि पार्टी नेता कार्यकर्तालाई क्रियाशील हुन आग्रह गरेका छन् ।

‘स्वर्गीय सिंह पार्टीको सम्पत्ति हुनुहुन्छ । उहाँको अनुपस्थितिले हाम्रो पार्टी र लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति भएको छ’, देउवाले भने ।

‘त्यो क्षतिपूर्तिका लागि हामी सबैले उनको सपना सकार गर्न लाग्नुपर्ने पर्छ। त्यसका लागि क्रियाशील हुन म अनुरोध गर्दछु’, उनले भने ।

नेता विमलेन्द्र निधिले संविधानअनुसार दुई–दुईपटक निर्वाचन भइसक्दा पनि संघीयता कार्यान्वयनको महत्वपूर्ण काम बाँकी रहेको भन्दै दलहरुले गम्भीर बन्नुपर्ने बताए ।

उनले परिवर्तनका लागि भएका सबै आन्दोलनको नेतृत्व मधेश र कांग्रेसले गरेका भन्दै संघयीयता कार्यान्वयनको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्ने बताए ।

सह–महामन्त्री महेन्द्र यादवले कांग्रेस बलियो भएमा मात्रै संघीयता, मधेस र देश बलियो हुने बताएका छन् ।

उनले आगामी दिनमा पार्टीलाई थप बलियो बनाउन सबै एकढिक्का हुनुपर्ने बताएका छन् ।

Published : Monday, 2023 December 11, 10:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया