पाल्पामा भरुवा बन्दुकको छर्रा लागेर मृत्यु

तानसेन । पाल्पा जिल्लामा भरुवा बन्दुकको छर्रा लागेर ४८ वर्षीय डम्बरबहादुर सारुको मृत्यु भएको छ ।

निस्दी गाउँपालिका–४ मित्याल गाङसिङ्डाँडा बस्ने सारुको आफैले बोकेको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भरुवा बन्दुक बोकी फापर खान बारीमा आएको दुम्सी मार्न जाने क्रममा चिप्लिएर लड्दा आफैँले बोकेको भरुवा बन्दुक पड्कन गई छर्रा लागेको थियो ।

शनिबार राति घाइते भएका सारुको रामपुर अस्पताल पाल्पामा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको थियो ।

ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले निस्दि गाउँपालिका–४ सपाङ्दीगैरास्थित खरबारीको अम्रिसो घारीमा एकनाले भरुवा बन्दुक १ थान र झोला फेला पारी बरामद गरेको छ ।

Published : Sunday, 2023 December 10, 8:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया