भ्रष्टाचार र गैनकानूनी कार्यबाट कमाएको सम्पत्ति विदेशमा लुकाएको सूचना प्रचण्डसम्म पुग्यो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार गरी वा अन्य गैरकानूनी कार्यबाट आर्जन भएको सम्पत्ति विदेश लुकाउने कार्य गरिएको बताएका छन् ।

शनिबार काठमाडौंमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, २०८० को अवसरमा आयोजित कार्यक्रममा दाहालले निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई कसूरको रूपमा परिभाषित गरी दण्डनीय बनाउन कानूनी व्यवस्था गरिन लागेको बताए ।

उनले भने, ‘भ्रष्टाचार गरी वा अन्य गैरकानूनी कार्यबाट आर्जन गरेको सम्पत्ति विदेशमा लुकाउने, विदेशमा गैरकानूनी रूपमा लगानी गर्ने, अन्तरदेशीय वा संगठित अपराधमा प्रयोग गर्ने जस्ता कार्यले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा खलल पुग्न सक्ने कुरालाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघको महासभाले महासन्धि पारित गरेकोले महासन्धिको प्रभावकारी कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्नका लागि दिवसको विशेष महत्व छ ।’

नेपालमा महासन्धिको कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सम्पर्क निकायका रूपमा काम गरिरहेको दाहालले बताए ।

‘भ्रष्टाचार लगायत अन्य गैरकानूनी ढंगबाट आर्जित सम्पत्ति विदेशबाट पुन: प्राप्तिका लागि कानूनी र संरचनागत प्रबन्ध तयार गरी कार्यान्वयन गर्ने तयारी हुँदैछ’, उनले भने ।

‘निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई कसुरको रूपमा परिभाषित गरी दण्डनीय बनाउन कानूनी व्यवस्था गरिँदैछ’, दाहालले भने, ‘बहुआयामिक विषयको रूपमा रहेको भ्रष्टाचारलाई सरकारी, सार्वजनिक, निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्य र सहयोगमा निवारण गर्ने कार्यमा नेपाल सरकार प्रयत्नशील छ ।’

प्रधानमन्त्री दाहाललाई भ्रष्टाचार र गैनकानूनी कार्यबाट कमाएको सम्पत्ति विदेशमा लुकाएको सूचना रहेछ । दाहालले अब भ्रष्टाचार गरेर आर्जन भएको सम्पत्ति जफत गर्नेतिर ध्यान केन्द्रित गर्नुपर्छ ।

Published : Saturday, 2023 December 9, 11:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया