उरै भञ्ज्याङ्ग र टिंकर जोड्ने सडक खण्ड बनाएरै छाड्छु : प्रधानमन्त्री दाहाल

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहालले सुन्दर सुदूरपश्चिमको सपनाबाट नेपालका अन्य क्षेत्रले समेत प्रेरणा लिन सक्ने बताएका छन् ।

शुक्रबार धनगढीमा सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै दाहालले भने, ‘हामीले खोजेको समृद्ध संघीय समाजवादी नेपालको निर्माणमा समेत यसले निर्णायक भूमिका खेल्नेछ ।’

आर्थिक समृद्धिका सबै क्षेत्रको वास्तविक चित्रण गर्दै व्यवस्थित र लागतसहितको कार्ययोजना तयार गर्न दाहालले आग्रह गरेका छन् ।

‘लगानीका क्षेत्रहरू निर्धारण गर्ने, लगानीको वातावरणका लागि आवश्यक नीतिगत तथा संरचनागत व्यवस्था गर्ने काममा तपाईहरू सफल हुनुहुनेछ’, उनले भने ।

उनले भने, ‘सुदूरपश्चिम विकास आयोगको गठनदेखि सुदूरपश्चिम विश्वविद्यालयको स्थापना, सुदूरपश्चिम क्षेत्रमा रोजगारी र विकासका लागि उत्तर दक्षिण कनेक्टिभिटी जोडने महाकाली करिडोर, उत्तरतर्फ उरै भञ्ज्यांगदेखि दक्षिणतर्फ भारतको सीमाना जोडने सडक, कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र तथा वेदकोट नगरपालिकाको छेलामा औद्यौगिक क्षेत्र स्थापनाको घोषणा, महाकाली नदीमा मोटरेबल पुल, महाकाली सिँचाई आयोजनाको तेश्रो चरणको कामको शुरुवात मेरो यसअघिका कार्यकालका केही रणनीतिक महत्वका कामहरू रहेका थिए ।’

‘मेरो तेश्रो कार्यकालमा भएको भारत भ्रमणका क्रममा समेत सुदूरपश्चिमलाई विशेष प्राथमिकता दिएर कतिपय आयोजनाहरू अघि बढेका छन्’, उनले भने, ‘भारतसँग प्रवासनका लागि ऐतिहासिक महत्व बोकेको बैतडीको झुलाघाट र सांस्कृतिक महत्व बोकेको डडेल्धुराको पर्शुराममा महाकाली नदीमा मोटरेबल पुल बनाउने सम्झौता अनुरुप भारतीय पक्षबाट काम अघि बढेको छ ।’

वर्षौदेखि रोकिएको पञ्चेश्वर जलविद्युत परियोजनाको डीपीआर निर्माणको कामले गति लिएको प्रधानमन्त्री दाहालले बताएका छन् ।

आफ्नो अहिलेको कार्यकालमा उरै भञ्ज्याङ्ग र टिंकर जोड्ने सडक खण्ड निर्माणलाई विशेष प्राथमिकताका साथ अघि बढाउने प्रधानमन्त्री दाहालले बताएका छन् । उरै भञ्ज्याङ्ग र टिंकर जोड्ने सडक बनेमा सुदूरपश्चिमका जनतालाई ठूलो रहत हुनेछ । सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

दाहालले सुदूरपश्चिम र कर्णालीको समग्र विकासमा ऐतिहासिक महत्व राख्ने १० हजार ८ सय मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत परियोजना बनाउने घोषणा गरेका छन् ।

Published : Saturday, 2023 December 9, 10:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया