शासकीय व्यवस्थाले गर्दा कुनै पनि दलको बहुमत आउँदैन, गठबन्धनमा जानैपर्छ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान र व्यवस्थाविरुद्ध आवाज उठ्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा कांग्रेस नेतृ रीता शाहीको गजल संग्रह ‘चिनारी’को लोकार्पण समारोमा नेता लेखकले असन्तुष्टिहरू संविधान र अहिलेको व्यवस्थाकाबिरुद्ध मुखरित हुन नदिन संविधान तथा व्यवस्थाको पूर्ण सुरक्षाका लागि कांग्रेस सचेत रहेको बताए ।

उनले विद्यमान असन्तुष्टिलाई सम्बोधन गर्न कांग्रेस अघि बढ्नुपर्ने बताएका छन् । गठबन्धनको संस्कृतिमा जानुको विकल्प नभएको पनि नेता लेखकले बताएका छन् ।

‘हाम्रो शासकीय व्यवस्था नै कस्तो छ ? संविधान नै कस्तो छ भने कुनै पार्टीको स्पष्ट बहुमत आउँदैन, गठबन्धनको संस्कृतिमा जानुको विकल्प छैन’, नेता लेखकले भने, ‘हामी त्यसमै गइरहेका छौँ । कमी कमजोरीहरू छन् ।’

‘केही असन्तुष्टि छ, सरकारले हामीले पार्टीहरूले राम्रोसँग काम गर्न सकेनन् की भन्ने चिन्ता र चासो छ’, उनले भनेका छन् ।

‘नेपाली कांग्रेस यो विषयमा गम्भीर हुन जरुरी छ । किनभने जुन चिन्ता, चासो र असन्तुष्टि छ, बहुदलीय व्यवस्थाभित्रै एकदल र अर्का दलकाबीचमा सन्तुष्टि, असन्तुष्टिको अभिव्यक्ति हुनु, सरकार परिवर्तन हुनु, अर्को सरकार बन्नु यी लोकतन्त्रका सकारात्मक कुरा हुन्’, लेखकले भने ।

‘असन्तुष्टि संविधानकै विरुद्धमा, यो व्यवस्थाकै विरुद्धमा अभिव्यक्त गर्ने जुन प्रयत्न भइरहेको छ, त्यस्तो भयो भने फेरि अर्को दुर्भाग्य हुन्छ’, उनले भने ।

‘असन्तुष्टि संविधान र अहिलेको व्यवस्थाबिरुद्ध मुखरित हुन नसकुन् भन्नका खातिर पनि संविधान र व्यवस्थाको पूर्ण सुरक्षाका खातिर पनि नेपाली कांग्रेस सबैभन्दा ज्यादा सचेत हुनुपर्छ’, लेखकले भने ।

Published : Saturday, 2023 December 9, 10:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया