एक सय किलो सुन काण्ड सेलाउन नपाउँदै ठूलो परिमाणमा सुन बरामद, भरिया पनि पक्राउ

काठमाडौं । झण्डै एक सय किलो सुन काण्डको मुद्दा सेलाउन नपाउँदै काठमाडौंबाट १६ किलो सुन बरामद भएको छ ।

बिहीबार राति दुबई फ्लाइटबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आएका गोरखाको वारपाकका चन्द्र घले करीव १४ किलो सुनसहित पक्राउ परेका छन् ।

विमानस्थलका प्रहरी र भन्सार कार्यालयका कर्मचारीको टोलीले घलेलाई सुनसहित पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता समेत रहेका डीआइजी कुबेर कडायतले बताएका छन् ।

घले सुनसहित जहाजबाट अवतरण हुने क्रममा पक्राउ परेका हुन् । सुनसहित पक्राउ परेका घलेलाई भन्सार विभागमा थप कारबाहीका लागि बुझाई सकिएको छ ।

शरीरमा सुन लुकाएर ल्याएको अवस्थामा घले पक्राउ परेको जानकारी प्रहरीले दिएको छ ।

१४ किलो सुनबारे छानबिन गर्न समिति गठन भएको छ । भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा सुनबारे छानबिन गर्न समिति गठन भएको छ ।

समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा छन् ।

यता, काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट सुन जस्तो देखिने पहेलो धातु २ किलोग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्ड गाउँपालिका–५ घर भएका २६ बिरू तामाङ, २१ वर्षीय सुनिल भुजेल र २८ वर्षीय ग्याल छिरिङ तामाङ रहेका छन् ।

भन्सार छली सुन ल्याउन लागेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रसुवाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२८ च २६९७ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गियरबक्स नजिक बिस्कुट आकारमा २ थानमा रहेको उक्त धातुसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूको साथबाट ६ थान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

पक्राउ परेका तीन जना भरिया रहेको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । सुन तस्करीको गिरोहले सुन तस्करी गर्दै आएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमाण्ड सम्हाल्न नसकेको गुनासो आइरहेका बेला ठूलो परिमाणमा तस्करीको सुन बरामद भएको छ ।

Published : Friday, 2023 December 8, 6:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया