घर र टहरा बनाउन तरुण दललाई दियो महासंघले निर्माणका औजारहरू

काठमाडौं । नेपाल तरुण दललाई नेपाल निर्माण व्यवसायी महासंघले भूकम्प प्रभावित जिल्लामा घर/टहरा निर्माणका लागि आवश्यक पर्ने निर्माणका औजारहरू उपलब्ध गराएको छ ।

शुक्रबार काठमाडौंमा तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई महासंघका अध्यक्ष रवि सिंहले निर्माणका औजारहरू हस्तान्तरण गरेका हुन् ।

घर/टहराहरू निर्माण गर्न जाने तरुणहरूका लागि आवश्यक पर्ने फलामको कराई, कोदालो र बिड, खन्ती, जावल, पिक वीड, करौती ठूलो, काँटी हम्बर, सावेल हेड मेटल हेन्डल, पिक, सेफ्टी हेलमेट नापे फिट लाईट, सेफ्टी ज्याकेट र गल तरुण दललाई महासंघले दिएको छ ।

सिंहले तरुण दललाई शुभकामना दिँदै जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित जनताको घर/टहरा निर्माणमा महासंघले उपलब्ध गराएका निर्माणका औजारहरूले सहयोगी भूमिका खेल्ने अपेक्षा लिएको बताएका छन् ।

तरुण अध्यक्ष गुरुङले निर्माण व्यवसायी महासंघ र अध्यक्ष सिंहद्वारा तरुणहरूको अभियानमा साथ र सहयोग गरिएकोमा धन्यावाद दिएका छन् ।

यसबीच, महासंघले आफ्नो १६औँ स्थापना दिवस २०८० को उपलक्ष्यमा काठमाडौंमा शुक्रबार बिहान बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

तरुण दलका अध्यक्ष गुरुङलाई भूकम्प प्रभावित जनताको सहयोगका लागि महासंघका अध्यक्ष सिंहले व्यक्तिगत तर्फबाट नगद एक लाख रुपियाँ दिने घोषणा पनि गरेका छन् ।

Published : Friday, 2023 December 8, 1:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया