लुम्बिनीको राजधानीमा घरजग्गा किनबेच लागेको रोक फुकुवा

मसुरिया । लुम्बिनी प्रदेशको राजधानीस्थल क्षेत्रमा घरजग्गा किनबेचमा लगाइएको रोक फुकुवा भएको छ ।

बुधबारबाट किनबेचमा लगाइएको रोक फुकुवा भएको हो । देउखुरीलाई राजधानी घोषणा गरेसँगै जग्गा कारोबारमा रोक लगाइएको थियो ।

जग्गाको मूल्य वृद्धि भई राजधानीका लागि आवश्यक घरजग्गा अभाव हुन सक्ने भन्दै प्रदेश सरकारले किनबेचमा रोक लगाएको थियो ।

२०७७ असोज २० गते प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र प्रदेशको नाम लुम्बिनी घोषणा गरेको थियो ।

राप्ती गाउँपालिकाका सबै वडा, गढवा–१, २ र ३ र अर्घाखाँचीको शीतगंगा नगरपालिका–८ र ९ वडामा घरजग्गा खरिद–बिक्री रोक्का गर्ने निर्णय गरेको थियो ।

मालपोत कार्यालय लमहीले बुधबार सूचना प्रकाशित गरी कित्ताकाट नहुने गरी जग्गा किनबेच फुकुवा भएको जानकारी गराएको छ ।

राप्ती गाउँपालिकाका सबै वडा र गढवा गाउँपालिका–१, २ र ३ का जग्गा एकल स्वामित्वको जग्गाधनी कायम रहने आधारमा मात्र कित्ताकाट नहुने गरी फुकुवा गरिएको कार्यालय प्रमुख मानबहादुर कुवँरद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

जुनसुकै प्रकारको भवन, जग्गा आदि अचल सम्पत्तिको कुनै प्रकारको स्वरूप परिवर्तन गर्न नपाउने गरी मात्र फुकुवा भएको छ ।

Published : Friday, 2023 December 8, 12:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया