टीकापुरका न्यौपाने सिभिल अस्पतालबाट पक्राउ

काठमाडौं । बैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भनेर रकम ठगी गरेको अभियोगमा प्रहरीले २८ वर्षीय रमेश न्यौपानेलाई पक्राउ गरेको छ ।

कैलालीको टीकापुर नगरपालिका वडा नं. १ घर भई हाल काठमाडौंको कोटेश्वरमा बस्दै आएका न्यौपानेलाई काठमाडौंको नयाँबानेश्वरस्थित सिभिल अस्पतालबाट पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

न्यौपानेले गणेश अधिकारी समेत ५ लाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनेर रकम ठगी गरेको अभियोग लागेको छ ।

न्यौपानेले ५ जनासँग प्रतिव्यक्ति पैतालीस लाख रुपियाँ लाग्ने भनेर आश्वासन दिएका थिए । अमेरिका पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु भनेर न्यौपानेले ठगी गरेको आरोप छ । अमेरिका पुगेपछि तीन लाख रुपियाँ मासिक तलब हुने भनिएको थियो ।

न्यौपानेले पीडितहरूबाट पटक–पटक गरी चौसठ्ठी लाख पैतालीस हजार रुपियाँ रकम लिई सम्पर्क विहीन भई भागेका थिए ।

न्यौपानेलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको छ ।

Published : Thursday, 2023 December 7, 11:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया