नेतृत्व र शासन व्यवस्था असफल भएको भन्दै राप्रपाले आन्दोलन गर्ने, पृथ्वी जयन्ती मनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजनीतिक, सामाजिक, आर्थिक रुपले देश संकटपूर्ण अवस्थामा रहेको जनाएको छ ।

बिहीबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देशको नेतृत्व र शासन व्यवस्था असफल भइसकेको भन्दै यथास्थितिमा देश अघि बढिरहन नसक्ने निश्कर्ष निकालेको छ ।

राप्रपाले आन्दोलनको अपरिहार्यतामा जोड दिएको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।

‘राजसंस्था, हिन्दूराष्ट्रको पुन:स्थापना, संघीयता खारेजीको पक्षमा एवं सुशासन र जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्तावलाई परिमार्जन सहित पारित गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

सो प्रस्तावलाई केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने अनुमति प्रदान गरेको छ ।

केन्द्रीय कार्यसमितिको बैठक पुस १, २ र ३ गते काठमाण्डौंमा बस्नेछ ।

राप्रपाले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय तहमा र सबै तहमा उत्सवको रुपमा मनाउने निर्णय गरेको छ ।

राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी हुने, यस सम्बन्धमा अन्य दलसंग आवश्यक सहयोग जुटाउन, संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख, वरिष्ठ नेता उपाध्यक्ष मा.बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको छ ।

इलाममा हुने प्रतिनिधिसभाको उप–निर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारी, समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजङ्ग गुरुङलाई जिम्मेवारी दिइएको प्रवक्ता श्रेष्ठले जनाएका छन् ।

राप्रपा नियमावली–२०८० लाई विधान मस्यौदा समितिमा पठाइ रायसहित केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने निर्णय भएको छ ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता पशुपतिशम्शेर राणा, उपाध्यक्ष बिक्रम पाण्डे, बुद्धिमान तामाङ लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2023 December 7, 2:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया