एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्राका नौटंकी जस्ता रोचक कथाहरू

काठमाडौं । नेकपा (एमाले)को झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा अध्यक्ष खड्गप्रसाद ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलले बागलुङ जिल्लामा रमिता देखाएका छन् ।

बागलुङको होटल गल्कोट स्क्वायरमा बिहीबार बिहान ओलीले शंकर र ईश्वरको संयुक्त तस्बिर खिचेका छन् । ओलीले तस्बिर खिच्न लागेको तस्बिर नेतृ शान्ता चौधरीले खिचेर सामाजिक सञ्जालमा राखेकी छिन् । तस्बिरलाई लिएर सामाजिक सञ्जालमा समर्थकले समर्थनमा लेखेका छन् । विरोधीहरूले आलोचना गरेर टिप्पणी गरेका छन् ।

करीव ५ करोडको महँगो सुविधा सम्पन्न लक्जरी गाडीमा यात्रा गरिरहेका ओलीले विभिन्न रमिता र नौटंकी देखाएको भनेर आफ्नै कार्यकर्ताहरूले आलोचना गरिरहेका छन् । ५ करोड पर्ने लक्जरी गाडी एमालेको युवा संघका उपाध्यक्ष अमित लामाको हो । अमित लामाले मेडिकल माफियाका रुपमा परिचित दुर्गा प्रसाइँसँग किनेर लिएका हुन् । अमितसँग लिएको रकम तिर्न नसकेपछि दुर्गाले सो गाडी दिएका हुन् ।

ओलीलाई अन्य गाडीमा यात्रा गर्न असहज हुने भएपछि महँगो सोही गाडी लिएर यात्रा गरेका छन् । एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा एमालेका नेताहरू सवार करीव १ सय गाडी हिँडेका छन् । दक्षिण भारतीय फिल्ममा देखाउने दृष्य जस्तै गरेर एमालेको यात्रामा गाडीको लावालस्कर देखिने गरेको छ । एमालेका नेताहरूले यात्राका क्रममा गाडी प्रदर्शन गरेको भनेर आलोचना पनि भएका छन् ।

बागलुङमा पुगेर पनि अध्यक्ष ओलीसहितका नेताहरू दरबार होटलमा बस्न पाएनन् । दरबार होटलका मालिक एमालेका नेता र ढोरपाटन नगरपालिकाका मेयर हुन् । नेपाली सहकारीको करोडौं रकम खाएर फरार छन् ।

नेपाली फरार रहेपछि ढोरपाटनमा रहेको दरबार होटल पनि बन्द छ । एमालेका नेताहरू बागलुङमा आफ्नै होटल नजिक आउँदा पनि नेपालीले स्वागत गर्न पाएनन् ।

करोडौं रकम खाएर भागेका नेता नेपालीको होटल बन्द भएपछि ओलीसहितका नेताहरू होटल गल्कोट स्क्वायर होटलमा बसेका हुन् ।

एमालेका यात्रामा निर्वाचनमा पराजित भएका अधिकांस नेताहरू छन् । महासचिव शंकर पोखरेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरहरू सबै हरुवा हुन् ।

नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका एमालेका उपाध्यक्ष तथा तत्कालीन गृहमन्त्री रामबहादर थापा पनि छन् । थापालाई भुटानी काण्डमा प्रहरीले अनुसन्धानमा तानेन । तर, थापाका छोरा प्रतीक थापालाई भने तानेको छ । थापाका छारा प्रतीक फरार छन् । तत्कालीन गृहमन्त्री थापा भने एमालेको यात्रामा ओलीसँगै कुम जोडेर हिँडेका छन् ।

एमालेका हरुवा नेताहरूले आफ्नो निर्वाचन क्षेत्रमा गएर कार्यकर्ता बढाउनुभन्दा पनि मध्य पहाडी लोकमार्गमा गाडी प्रदर्शन गरेको भनेर आलोचना भएका छन् । ओलीसहितका नेताहरूले तस्बिर राख्नुका साथै मनगढन्ते कथाहरू राख्ने गरेको आरोप छ । ओलीलाई ९ वर्षका बालकको पत्र भनेर बालकका बुबाले लेखेको पत्र थमाइएका कथा पनि चर्चित छन् ।

Published : Thursday, 2023 December 7, 1:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया