एनसेल काण्ड छानविन गर्न सरकारलाई गठबन्धनको आग्रह

काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका सत्ता गठबन्धनमा आबद्ध दलहरूले एनसेलको खरिद बिक्री प्रकरणमा सरकारले गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

मंगलबार बालुवाटारमा बसेको गठबन्धन र कर्मचारीसहितको बैठकले एनसेलका विषयमा गहिरो छानबिन गरी कानूनअनुसार कारबाही गर्ने निष्कर्ष भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका छन् ।

एनसेलको पछिल्लो गतिविधि शंकास्पद् रहेको निष्कर्षसमेत बैठकले निकालेको छ ।

लेखकले भने, ‘एनसेलको सम्बन्धनमा जुन सेयर खरिद बिक्रीका कुरा आएका छन् । ती अत्यन्त गम्भीर छ । जे पनि काम कुरा भएका छन्, त्यो नेपालको कानूनबमोजिम वा स्वीकृतिमा भएको पाइएको छैन ।’

‘जति पनि गतविधि भएका छन्, ती सबै शंकास्पद् छन्’, लेखकले भने, ‘सरकारले तत्काल गहिरोगरी छानबिन र अध्ययन गर्नुपर्छ । राष्ट्र र देशको हितमा गर्नुपर्ने सबै काम गर्नुपर्छ ।’

उनले भने, ‘प्रधानमन्त्रीज्यूले यो विषयमा छानबिन गर्ने भनिसक्नुभएको छ । देशको हित प्रतिकूल हुन नदिन सुक्षमरुपले छानबिन गर्ने भनिसक्नुभएको छ ।’

एनसेलको सेयर खरिद बिक्री शंकास्पद भएकाले तत्काल छानबिन गर्न सरकारलाई गठबन्धनका दलहरूले आग्रह गरेका छन् ।

मलेसियाको कम्पनी आजियटाले एनसेलको सेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पमी स्पेक्ट्रलाइटलाई बिक्री गरेको छ ।

नेपाल सरकारको निकायलाई खबर नगरी खरिद बिक्री गरेको भन्दै उक्त कारोबारमाथि प्रश्न उठेका बेला प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको बैठक राखेर छलफल गरेका हुन् ।

बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2023 December 5, 8:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया