अपङ्गता भएका व्यक्तिको शिक्षा, सामाजिक, राजनैतिक अधिकारमा विशेष ध्यान दिनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३२औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा शुभकामना दिएका छन् ।

आइतबार शुभकामना सन्देश जारी गर्दै देउवाले ३२औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको सन्दर्भमा अपाङ्गता भएका व्यक्तिको मानवअधिकारको प्रवर्द्धन, मर्यादा र समामाजिक न्यायको सुनिश्चितताका लागि शुभकामना व्यक्त गरेका छन् ।

सभापति देउवाले भने, ‘अपाङ्गता भएका बहुसंख्यक नेपाली दिदीबहिनी तथा दाजुभाइहरू अझै पनि गरिबीको अवस्थामा जीवनयापन गरिरहेका छन् । उहाँहरूको न्यायोचित र स्वाभिमानपूर्वक जीवनयापनको अवसर सिर्जना गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक र राजनैतिक अधिकारका लागि विशेष ध्यान दिन जरुरी छ ।’

‘नेपालको संविधान, मौलिक हक, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धि, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन लगायतको प्रभावकारी कार्यान्वयनले मात्र अपाङ्गता भएका व्यक्तिको जीवनस्तर र यापनमा सुधार हुन सक्छ’, उनले भने ।

‘अपाङ्गता अधिकारको सवालमा हाल भएका संवैधानिक र कानूनी व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयनमा प्राथमिकता र ध्यान पुर्‍याउन सम्वद्ध सबैसँग म आग्रह गर्दछु’, सभापति देउवाले भने ।

नेपालले यस वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता’ नारा राखेको छ ।

अन्तर्राष्ट्रिय नाराले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि र दिगो विकासका लागि २०३० एजेन्डाद्वारा अपाङ्गता भएका व्यक्तिहरूका लागि सबै मानवअधिकारको पूर्ति गर्ने राष्ट्रसंघको प्रतिबद्धतालाई बलियो बनाएको सभापति देउवाले बताएका छन् ।

उनले भने, ‘नेपालले यो ऐक्यवद्धता र प्रतिवद्धतालाई आत्मसात गर्दै संविधान र दिगो विकासका लक्ष्य कार्यान्वयनमा अपाङ्गताको सवाललाई विशेष व्यवस्था सहित अघि बढाउनु पर्नेछ ।’

‘३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका सम्पूर्ण दिदीबहिनी, दाजुभाइहरू तथा यस क्षेत्रमा क्रियाशील सम्वद्ध सबैको उत्तरोत्तर प्रगति, सुख, शान्ति र समृद्धिका लागि पुन: हार्दिक शुभकामना व्यक्त गर्दछु’, देउवाले भने ।

संयुक्त राष्ट्र संघको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको छ ।

Published : Sunday, 2023 December 3, 8:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया