वीरबाट कार्यकारी निर्देशक पद खोसिएका (एमाले) डा.पौडेलको यस्ता थिए कर्तुत, त्यसपछि बरबराउन थाले

काठमाडौं । निर्वाचन आयोग र राष्ट्रिय सतर्कता केन्द्रले कारवाही गर्न सिफारिस गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालका कार्यकारी निर्देशक डा.सन्तोष पौडेललाई जिम्मेवारीबाट हटाएको छ ।

वीर अस्पतालका कार्यकारी निर्देशक डा.पौडेल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भन्दै आयोग र केन्द्रले आवश्यक कारबाहीको लागि सिफारिस गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यकारी निर्देशक पद खोसेर कारबाही गरेको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रिस्तरीय निर्णय गर्दै डा.पौडेललाई वीर अस्पतालको निर्देशकको जिम्मेवारीबाट हटाएर मन्त्रालय तानेका हुन् ।

निर्वाचन आयोग र सतर्कता केन्द्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै डा.पौडेलको विषयमा परेका उजुरीहरूको आधारमा कारबाहीको लागि सिफारिस गरेको जनाएको छ ।

स्वास्थ्य सेवा नियमावली अनुसार कुनै पनि चिकित्सक राजनीतिक पार्टीको सक्रिय सदस्य हुन पाउँदैन ।

यसका साथै उपल्लो तहको चिकित्सक जनवर्गीय संगठनको सदस्य हुन समेत बन्देज गरिएको छ ।

आयोगले पठाएको पत्रमा भनिएको छ, ‘वीर अस्पतालका कार्यकारी निर्देशक डा.पौडेल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)को सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भनी प्राप्त हुन आएको उजुरीको छायाप्रति यसै पत्रसाथ संलग्न छ ।’

‘निज सन्तोष पौडेल स्वास्थ्य सेवामा कार्यरत कर्मचारी रही हाल वीर अस्पतालको निर्देशकको पदमा कार्यरत रहेको भन्ने जानकारी प्राप्त हुन आएकोमा संलग्न उजुरी यसैसाथ संलग्न गरी आवश्यक कार्यार्थ पठाइएको व्यहोरा अनुरोध छ’, पत्रमा भनिएको छ ।

कार्यकारी निर्देशक डा.पौडेल नेकपा (एमाले) को सदस्य तथा सो दल सम्बद्ध जनसंगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका महासचिव रहेको उजुरी परेको थियो ।

नेपाल सरकारबाट नियुक्त डा.पौडेल दलको सदस्य र जनसंगठनको पदाधिकारी रहेकोले असारमा कारबाहीको माग गर्दै उजुरी परेपछि आयोगले छानबिन गरेको थियो । नेकपा (एमाले)को वेभसाइटमा नै डा.पौडेल सदस्य रहेको उल्लेख छ ।

यसैबीच, राष्ट्रिय सतर्कता केन्द्रले पनि डा.सन्तोष पौडेललाई आवश्यक कारबाहीको लागि स्वास्थ्य मन्त्रालयमा पत्र पठाएको छ ।

केन्द्रले ट्रेड युनियनसँगको संलग्नता स्वास्थ्य सेवा ऐन, २०५३ दफा ९२ (क) मा भएको व्यवस्था आकर्षित हुने भन्दै आवश्यक कारबाहीका लागि पत्र पाएको हो ।

‘वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेल ट्रेड युनियनमा आवद्ध भै कामकाज समेत गरेकोले छानबिन गरी पाउँ भनी केन्द्रमा उजुरी दर्ता भएकोमा सो विषयमा छानबिन गर्न यस केन्द्रबाट छानबिन समिति गठन भै प्राप्त प्रतिवेदन अनुसार राष्ट्रिय ट्रमा सेन्टरपछि वीर अस्पतालमा समेत कार्यकारी निर्देशकको रुपमा कार्यरत निज डा.सन्तोष पौडेलको ट्रेड युनियनसँगको संलग्नता स्वास्थ्य सेवा ऐन, २०५३ दफा ९२ (क) मा भएको व्यवस्था आकर्षित हुने देखिएकोले प्रचलित कानूनमा भएको व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गर्नु अनुरोध छ’, पत्रमा भनिएको छ ।

जिम्मेवारीबाट हटाइएपछि एमालेका संगठित कार्यकर्ता डा. पौडेलले आफ्नो गल्ती स्वीकार गर्नुभन्दा सामाजिक सञ्जालमा स्वास्थ्य मन्त्रालय र स्वास्थ्यमन्त्री बस्नेतलाई निच लाञ्छना लगाउने काम गरेका छन् ।

डा.पौडेलले एमाले निकटका पत्रकार र सञ्चारमाध्यममा समाचार लेखाएर स्वास्थ्यमन्त्री बस्नेतको बदनाम गराउने प्रयासमा लागेका छन् । आफ्नो पदीय मर्यादामा बस्न नसक्ने एमालेका कार्यकर्ता डा.पौडेललाई अनुशासनहीन कार्य गरेको अभियोगमा विभागीय कारबाही गर्न चित्सिक र स्वास्थ्यकर्मीहरूले माग गरेका छन् ।

डा.पौडेलले राज्य र कानूनसँग खेलवाड गर्दै पंगा लिएका छन् । डा.पौडेल जस्ता चिकित्सकहरू सयौँ छन् । उनीहरूले अवसर नपाएर बसेका बेला डा.पौडेलको धम्कीले केही हुनेवाला छैन ।

कानून विपरितका हर्कत गरेमा डा.पौडेललाई मन्त्रालयले थप विभागीय कारबाही गर्ने सम्भावना छ । अनुशासन र पदीय आचारणमा बस्दा नै डा.पौडेललाई उचित हुनेछ । होइन भने एमालेको झण्डा बोकेर झुलाघाटदेखि चिवाभञ्ज्याङ संकल्प यात्रामा निस्किए हुन्छ ।

Published : Sunday, 2023 December 3, 8:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया