भाषणभन्दा पनि काम गर्ने समय आएको छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् ।

शनिबार बुटवलमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम प्रदेश सम्मेलनको उद्घाटन गर्दै देउवाले कम बोल्ने तर, काम गर्ने आफ्नो स्वभाव रहेको बताएका छन् । उनले नेपाली कांग्रेस अझै बलियो र एकताबद्ध बन्ने विश्वास व्यक्त गरेका छन् ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनी जस्तो पवित्रस्थल क्षेत्र भएकोले रुपन्देहीबाट नेपाली कांग्रेसलाई बलियो बनाउन लुम्बिनी प्रदेश सम्मेलनले महत्वपूर्ण सन्देश दिने देउवाले बताएका छन् ।

सभापति देउवाले बुद्धको जीवन दर्शनप्रति विश्वभर नै आस्था बढ्दै गएको बताउँदै उनले अन्य धार्मिक समुदायले समेत बुद्धिजमलाई आत्मसाथ गरेकोले लुम्बिनीको भूमिमा भइरहेको कांग्रेसको प्रदेश सम्मेलन महत्वपूर्ण रहेको बताए ।

महामन्त्री विश्वप्रकाश शर्माले अहिलेसम्म नेपाली कांग्रेसले देशलाई हरेक मोडमा नेतृत्व गरेको बताउँदै अब पनि नेतृत्व गर्ने दिन आएको बताए ।

महामन्त्री शर्माले देशको अभिभावकत्व कांग्रेसले गर्नुपर्ने बताए । उनले अब व्यवस्थामा परिमार्जन र अवस्थामा परिवर्तन चाहिएकोले कांग्रेसको संगठनलाई बदल्नु जरुरी रहेको बताए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले देशमा संघीयता आए पनि प्रदेशले अझै अधिकार नपाएको अवस्था रहेको बताए ।

चौधरीले संघीयताको विषयमा प्रश्न उठिरहेकोले संविधान कार्यान्वयन गराउन संघबाट दिन सकिने अधिकार प्रदेश सरकारलाई छिटो प्रदान गर्नेतर्फ ढिलाइ गर्नु नहुने बताए ।

कार्यक्रममा महामन्त्री गगन थापा,नेता शेखर कोइराला, केन्द्रीय सदस्य चन्द्र भण्डारी, पुष्पा भुसाल, दीपक गिरी लगायतले बोलेका छन् ।

सम्मेलनलमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट जिल्लाका पदाधिकारी तथा सदस्यको सहभागिता रहेको छ । सम्मेलन आइतबारसम्म सञ्चालन हुनेछ ।

Published : Saturday, 2023 December 2, 9:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया