संगीतकार श्रेष्ठलाई देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको सम्मान

लमही । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चले आफ्नो १३औँ वार्षिकोत्सव समारोहका अवसरमा संगीतकार सन्तोष श्रेष्ठलाई प्रमाणपत्रसहित सम्मान गरेको छ ।

शनिबार दाङको देउखुरीस्थित लामहीमा मञ्चले आयोजना गरेको कार्यक्रममा संगीतकार श्रेष्ठलाई ‘पाठक कला संगीत सम्मान– २०७९ बाट सम्मान गरेको हो ।

नेपालको सांगीतिक पृष्ठिभूमिभित्र गीत, संगीत र साहित्यलाई थप उचाइँमा पुर्‍याउनका लागि अनवरत रुपमा गायक तथा संगीतको क्षेत्रमा कार्यरत रहँदै आएको भन्दै मञ्चले श्रेष्ठलाई सम्मान गरेको जनाएको छ ।

देवराज पाठकद्वारा ‘पाठक कला संगीत सम्मान स्थापना गरिएको हो । देवराज पाठकले सांगीतिक क्षेत्रमा लागेकाहरूको हौसला बढाउने उद्देश्यले यो सम्मान स्थापना गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृति विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवप्रकाश लामिछानेले संगीतकार श्रेष्ठलाई सम्मान पत्र प्रदान गरेका थिए । प्रा.डा.लामिछानेले गीत/संगीतको क्षेत्रमा संगीतकार श्रेष्ठको योदानको प्रशंसा गरेका छन् ।

संगीतकार श्रेष्ठले मञ्चले आफूलाई प्रमाणपत्र दिन योग्य ठानेकोमा धन्यावाद दिएका छन् । मञ्चको तर्फबाट आफूले पाएको ‘पाठक कला संगीत सम्मान’ले थप जिम्मेवारी बोध गराएको श्रेष्ठले उल्लेख गरेका छन् ।

देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चका अध्यक्ष हरि पोखरेलले कार्यक्रममा सहभागी सबैप्रति आभार प्रकट गर्दै धन्यावाद दिएका छन् ।

संगीतकार श्रेष्ठ दाङको घोराही उप–महानगरपालिकाको हापुर निवासी हुन् । सांगीतिक क्षेत्रमा ठूलो योगदान पुर्‍याएका श्रेष्ठले सयौँ गीतहरूमा संगीत दिएका छन् । केही गीतहरूमा उनले आवाज पनि दिएका छन् ।

‘तिमले पराइ ठानेपछि, पराइ हुन के भयो…’ जस्ता बोलका गीतहरूबाट श्रेष्ठ चर्चित भएका हुन् । राष्ट्रकवि माधवप्रसाद घिमिरे, कृष्णहरि बराल, दिनेश अधिकारी, रमेश क्षितिज, डा.भीमार्जुन आचार्यका गीतमा उनले संगीत भरेका छन् ।

Published : Saturday, 2023 December 2, 8:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया