डा.लामालाई ह्योल्मो समाजको सम्मान, मन्त्री किराँतीद्वारा कामको प्रशंसा

काठमाडौं । ह्योल्मो समाज सेवा केन्द्रले संविधानसभा सदस्य समेत रहेका लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामालाई विशेष बधाई तथा सम्मान गरेको छ ।

विश्वभरिका बुद्धमार्गी तथा सरकारहरू संलग्न रहेको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय बौद्ध महासंघ (आईबीसी)को शक्तिशाली अधिकार प्राप्त कार्यकारी स्थायी समितिमा निर्वाचित हुँदै सभापति बनेको अवसरमा उपाध्यक्ष डा.लामालाई केन्द्रले काठमाडौंमा विशेष कार्यक्रम गरी बधाई एवम् सम्मान गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उपाध्यक्ष डा.लामालाई डल्फिनको संज्ञा दिएका छन् ।

उनले भने, ‘डल्फिनलाई सानो भाँडोमा राखेर टाउको डुबाए शारीरिर भिज्दैन, शरीर डुबाए टाउको भिज्दैन भने जस्तै उपाध्यक्ष डा.लामाको क्षमता हेर्दा सानो भाडामा नभएर समुन्द्रमा राख्न पर्छ ।’

उपाध्यक्ष डा.लामाको प्रशंसा गर्दै मन्त्री किराँतीले लुम्बिनीको काममा आफू पुल बन्ने र पिलर बनेर सहयोग गर्ने बताएका छन् ।

एशियाकै पवित्र भूमि रहेको ह्योल्मो वास्तवमा संसार चिनाउने, सेतो हिमालमा रक्तिम कीर्तिमान राख्ने, चिसोगाउँमा न्यानो कथा बोक्ने ठाउँ भएको भन्दै किराँतीले हिमाली पर्यटनको क्षेत्रको रुपमा विकास, संरक्षण सम्बर्धन गर्न आफू तयार रहेको बताएका छन् ।

बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री युवराज दुलालले उपाध्यक्ष डा.लामाबाट उर्जा र हौसला मिल्ने गरेको कुरा स्मरण गरेका छन् । दुलालले डा.लामालाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

उपाध्यक्ष डा.लामालाई मन्त्री किराँतीले ह्योल्मो समाजको तर्फबाट आईबीसीको सभापति पदमा निर्वाचित भएकोमा बधाई सम्मान हस्तान्तरण गरेका छन् ।

उपाध्यक्ष डा.लामा विश्वभरिका बुद्धमार्गी तथा सरकारहरू संलग्न रहेको सर्वोच्च संस्था आईबीसीको स्थापनाकाल सन् २०११ सालदेखि सन् २०१६ सम्म स्थायी समिति सदस्यमा निर्वाचित भएर काम गर्दै आएका थिए ।

भारत सरकारको मातहतमा रहेको आईबीसीले सय करोडभन्दा धेरै बुद्धिष्टहरूलाई एकता गर्दै विश्वभर शान्ति स्थापनको निम्ति विभिन्न कार्यक्रमहरू अगाडि बढाउँदै आएको छ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँती, बागमती प्रदेश भौतिक पूर्वाधारमन्त्री दुलाल, पूर्वसांसद शेरबहादुर तामाङ, निमा लामा लगायत विशिष्ट व्यक्तिहरू, हजारौं भिक्षु, लामा एवम् स्थानीय ह्योल्मो समुदायको उपस्तिथि रहेको थियो ।

Published : Saturday, 2023 December 2, 7:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया