ईन्टरपोलमा नेपाल प्रहरीको भिडियो संसारकै उत्कृष्ट

काठमाडौं । ईन्टरपोलद्वारा आयोजित युवा पुलिस नेताहरूको लागि ईन्टरपोल १०० ग्लोबल भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ ।

मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना भइरहेको ईन्टरपोलको ९१औं महासभाको पहिलो दिन प्रतियोगिता भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ईन्टरपोलका १९५ सदस्य राष्ट्रहरूमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको हो ।

नेपाललाई प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका प्रहरी निरीक्षक नारायण थापा र प्रहरी निरीक्षक उमेश गुरुङ श्रेष्ठद्वारा निर्माण गरिएको ‘ग्रह बचत गरौं’ विषयक सूचनामूलक छोटो भिडियो सर्वोत्कृष्ट घोषणा भएको विज्ञप्तिमा उल्लेख छ ।

भिडियोमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, कृत्रिम बुद्धिमताका कारण भविष्यमा हुनसक्ने समस्याहरू समाधान गर्न र दिगो विकासको लक्ष्य प्राप्त गर्न यूएनको मुख्य साझेदारको रूपमा रहेको इन्टरपोलको अहम भूमिका हुने विषय समेटिएको छ ।

ईन्टरपोलका अध्यक्ष मेजर जनरल डा.अहमद नासेर अल–राइसीबाट नेपाल प्रहरीलाई सम्मान स्वरूप प्रमाणपत्र प्राप्त भएको छ ।

ईन्टरपोल स्थापनाको १०० वर्षलाई विशेष उत्सवको रूपमा मनाउन इन्टरपोल नवाचार केन्द्रद्वारा ‘२०३० मा सुरक्षित संसारको लागि इन्टरपोललाई कसरी जोड्ने र विश्वव्यापी कानून प्रवर्तनलाई सशक्त बनाउने परिकल्पना गर्नुहुन्छ ?’ विषयमा आधारित रहि भिडियो प्रतियोगितामा सहभागी हुन सम्पूर्ण १९५ सदस्य राष्ट्रहरूलाई आह्वान गरिएको थियो ।

महासभामा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसहितको नेपाली प्रतिनिधि मण्डल सहभागी रहेको छ ।

Published : Wednesday, 2023 November 29, 7:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया