सभापति देउवाले बोलाए पदाधिकारी बैठक, यी विषयमा हुन सक्छ छलफल

काठमाडौं । मुलुकको पछिल्लो अवस्था र महासमितिको बैठक लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्न लागेको छ ।

काठमाडौंको धुम्बाराहीमा पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बुधबार दिउँसो १ बजे पदाधिकारीहरूको बैठक बस्नेछ । बैठकमा महासमितिको बैठकका विषयमा नै छलफल केन्द्रित हुन सक्ने सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले बताएकी छिन् ।

आगामी पुसमा महासमितिको बैठकको तयारी भइरहेको छ । विभाग गठनका विषयमा पनि छलफल हुन सक्नेछ ।

कांग्रेसले महासमिति बैठक पुस १६ देखि १९ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । विधान अनुसार महाधिवेशन नभएको वर्ष महासमिति बैठक गर्नुपर्ने व्यवस्था छ ।

विभागलाई पूर्णता दिने र सरकारको कामकारबाही बारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

नेपाली कांग्रेसमा ४८ बाट बढाएर ७० विभाग पुर्‍याइएको छ ।

Published : Wednesday, 2023 November 29, 10:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया