लास भेगासमा रि–इन्भेन्ट सम्मेलनमा जेनेस सलुशनको सहभागिता

लास भेगास । अमेरिकी शहर लास भेगासमा अमेजन वेब सर्भिसेजले आयोजना गरेको संसारकै सबैभन्दा ठूलो क्लाउड कम्प्युटिंग सम्बन्धी सम्मेलनमा ब्रिटेनमा मुख्यालय भएको कम्पनी, जेनेस सलुशन, पनि सहभागी भैरहेको छ ।

सोमबारदेखि शुरु भएको ‘एडब्लुएस रि–इन्भेन्ट २०२३’ नाम दिइएको पाँच दिने सम्मेलनमा संसारभरिबाट क्लाउड कम्प्युटिंगमा काम गर्ने हजारौं आइटी उद्यमीहरू, व्यवसायीहरू, पेशेवर तथा प्राज्ञहरू सहभागी भैरहेका छन् ।

ब्रिटेनमा मुख्यालय भएको तथा अमेरिका, नेपाल लगायत संसारका आठ ओटा मुलुकहरूमा काम गरिरहेको भ्यालु आइटी कन्सल्टिंग कम्पनी, जेनेस सलुशन, उक्त सम्मेलनमा शोकेश प्रायोजकको रुपमा सहभागी भैरहेको छ ।

एडब्लुएसको साझेदारको रुपमा जेनेस सलुशनले सम्मेलनको डेटा जोनमा एक स्टल राखेर आफ्नो कम्पनीका डेटा इन्जिनियरहरूले विकास गरेको ‘गेनडल्फ इनसाइट’ नामक फिनटेक सम्बन्धी सफ्टवेयरको प्रदर्शन गर्नेछ ।

सफ्टवेयरले वित्तीय कारोबारलाई अरु बढी कुशलतापूर्वक सम्पन्न गर्न सघाउ पुग्ने सो कम्पनीले जनाएको छ ।

‘एउटा प्रायोजकको रुपमा एडब्लुएस रि–इन्भेन्ट २०२३ मा भाग लिन पाउँदा हामीलाई निकै खुसी लागेको छ’, एडब्लुएस दूत तथा जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अन्जनी फुयालले भने ।

‘क्लाउड तथा वित्तीय प्रविधिको क्षेत्रमा काम गर्ने संसारभरिका उद्यमी, व्यवसायी तथा प्राज्ञहरूलाई सुन्न र अन्तरक्रिया गर्न पाउँदा हामी हर्षित छौं’, उनले भने ।

अक्टोबर २०१८ मा एडब्लुएसको साझेदारको रुपमा छनोट भएको जेनेस सलुशन मार्च २०१९ देखि एडभान्सड पार्टनरको रुपमा रहेको छ ।

एडब्लुएसबाट प्रमाण पत्र प्राप्त गरेका ५० भन्दा बढी डेभलपरहरु अहिले जेनेस सलुशनसंग आबद्ध छन् ।

जेनेस सलुशनले विकास गरेको आर्टिफिसियल इन्टेलिजेन्स तथा मशिन लर्निङ्गमा आधारित गेनडल्फ इनसाइट नामक सफ्टवेयरले जटिल वित्तीय तथ्यांकहरूलाई पनि सजिलैसंग प्रशोधन गर्दछ ।

‘प्रयोगकर्ता मैत्री रहेको यो एप्लिकेशनले तत्काल जटिल तथ्यांक समेत विश्लेषण गरी सही सूचनाको आधारमा निर्णय गर्न सघाउ पुर्‍याउँछ, ‘रि–इन्भेंट सम्मेलनमा भाग लिन हाल लास भेगास पुगेका जेनेस सलुशनको इन्जिनियरिङ्ग विभागका उपाध्यक्ष बिक्रम अधिकारीले भने ।

यसले ब्लक चेन प्रविधिमार्फत अत्यन्तै तीव्र गतिमा निकै ठूलो परिमाणमा डेटा प्रशोधन गर्दछ ।

जेनेस सलुशनमा कार्यरत प्रसुना शर्माले उक्त सम्मेलनमा भाग लिन नेपालमै पहिलो पटक एडब्लुएस अल बिल्डर्स वेलकम ग्रान्ट प्राप्त गरेकी छन् ।

‘यसलाई नेपाली युवा पुस्तामा रहेको क्षमताको पहिचानको रुपमा पनि हामीले लिएका छौं’, जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत फुयालले भने ।

यो वर्षको रि–इन्भेंट सम्मेलनमा चर्चित टेक अगुवाहरूको मन्तव्य, एडब्लुएस बिल्डर ल्याब, २,००० भन्दा बढी सिकाइ सत्रहरु, एक्स्पो र प्रडक्ट लन्च लगायतका थुप्रै कार्यक्रमहरू रहेको आयोजकले जनाएका छन् ।

Published : Wednesday, 2023 November 29, 10:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया