मिश्रित समानुपातिक निर्वाचन प्रणाली खारेज गरौँ : कांग्रेस नेता महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले संविधानमा सबै वर्ग र समुदायका कुरा अटाएको बताएका छन् ।

मंगलबार नेपाली कांग्रेस रुपन्देही जिल्लाको सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले तत्कालीन अवस्थामा सम्झौता गरेर सबै राजनीतिक दलको साझा दस्तावेजका रूपमा संविधान आएको बताए । उनले संविधानको सफल कार्यान्वयन नै अहिले प्राथमिक विषय भएको बताएका छन् ।

‘अहिलेको संविधानमा सबै वर्ग र समुदायका कुरा अटाएका छन्’, उनले भने, ‘सबैका विचार अटाएका छन् । यो सबैको सम्झौताको दस्ताबेज भएकाले अहिले तलमाथि गर्ने र आधारभूत विषय फेर्ने प्रयास गर्नुहुँदैन ।’

‘त्यस्तो भयो भने फेरि देश दुर्घटनामा जान्छ । देश फेरि हिंसाको खाडलतर्फ जान सक्छ । यसतर्फ पनि कांग्रेसलगायत ठूला दल सजग बन्नुपर्छ’, उनले भने ।

उनले नेताहरू आफैँ संवैधानिक रूपमा अगाडि बढ्न नसके त्यस्को असर मुलुकलाई पर्ने र जनतामा निराशा छाउने बताएका छन् ।

नेता महरले प्रतिनिधि सभामा मिश्रित समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था हटाउनुपर्ने बताएका छन् ।

मिश्रित समानुपातिक निर्वाचन प्रणालीको कुनै पनि दललाई बहुमत पुगाउन बाधा गरिरहेको र त्यसले विकासमा समेत असर पुगाइरहेको नेता महरले बताए । उनले समानुपातिक प्रणाली राष्ट्रिय सभामा गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘संविधानका निर्माण गर्दा नेताहरू नै संविधानप्रति बढी जिम्मेवार हुनुपर्छ । दुर्गा प्रसाईं र पूर्वराजा प्रवृतिमात्र संविधानको बरखिलापमा होइनन् ।’

‘परिवर्तनधारी दलको क्रियाकलाप पनि संविधान बचाउने खालको भएन’, कांग्रेस नेता महरले भनेका छन् ।

Published : Wednesday, 2023 November 29, 10:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया