रुकुम पश्चिममा कांग्रेसले बनाइदियो तीन स्थानमा घर टहराहरू

काठमाडौं । भूकम्पबाट प्रभावित बस्तीहरूमा एक हजार अस्थायी आवास घर–टहरा निर्माण अभियानमा योगदान गर्ने नेपाली कांग्रेसको निर्णय अनुसार रुकुम (पश्चिम)का तीन स्थानमा कामहरू अन्तिम चरणमा पुगेका छन् ।

सानोभेरी गाउँपालिका वडा नं. ४ पुरानो गाउँमा गौनी बिकको घरबाट शुरुवात गरी ३ स्थानमा अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ ।

यो अभियानमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय मानबहादुर नेपाली र गुरु बराल, नेपाली कांग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकाय, रुकुम (पश्चिम) का सभापति प्रेमप्रकाश ओली, युवा नेता शिव आचार्य लगायतका नेता तथा पार्टी सदस्यहरू संलग्न रहेका छन् ।

‘दु:खको यो बेलामा योगदान गर्नु हुने पार्टीका सबै साथीहरूको नेपाली कांग्रेस उच्च प्रशंसा गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले घर टहरा बनाउने अभियानमा थप क्रियाशील भई निरन्तर लागि पर्न सबैलाई अपील गरेको छ ।

Published : Tuesday, 2023 November 28, 11:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया