सबै मतभेद हटाएर कांग्रेसको संगठन बिस्तारमा लाग्न सभापति देउवाको निर्देशन

दलदले । राजसंस्था ल्याउने भनेर केही समूह र व्यक्तिले सडकमा प्रदर्शन गरिरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र कुनैपनि हालतमा नफर्किने बताएका छन् ।

नवलपुरको दलदलेमा सोमबार नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले धर्मनिरपेक्षका बारेमा पार्टीमा छलफल गर्न सकिए पनि गणतन्त्र भने निर्विकल्प भएको बताए ।

‘जनताले संविधानमार्फत फालिसकेको राजतन्त्र फर्कने कुनै सम्भावना छैन’, उनले भने, ‘केही दिनदेखि देखिएको गतिविधीबारे देउवाले केही बोलेनन् भन्ने सुनेको छु । हाम्रो पार्टीको स्पष्ट धारणा छ संघीयता र गणतन्त्रको विरुद्ध हुने कुनैपनि गतिविधी हामीलाई मान्य छैन ।’

सभापति देउवाले धर्मनिरपेक्षका विषयमा पार्टीमा छलफल गर्न सकिए पनि गणतन्त्रको विकल्प नभएको बताए ।

पार्टीका सबै मतभेद हटाएर संगठन बिस्तारमा लाग्न देउवाले कांग्रेस नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

उनले भने, ‘संविधान सभाले निर्णय गरेकाले अब राजतन्त्र फर्किँदैन, सबै मिलेर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र मजबुत बनाउनु पर्छ ।’

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले देशमा भइरहेको राजनीतिक तरलतालाई समाधान गर्न नेपाली कांग्रेस लाग्नुपर्ने बताए ।

आफू सत्तामा हुँदा वा नहुँदा देश विकास गर्न सधैँ अगाडि बढ्नुपर्न गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेको भनाइ छ ।

पाण्डेले गण्डकी प्रदेशको विकासका लागि त्रिवेणी नाका खुलाइ आर्थिक गतिविधिमा चलायमान गराउने बताएका छन् ।

Published : Tuesday, 2023 November 28, 10:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया