डा.गोविन्द केसीको बारेमा मन्त्री बस्नेतद्वारा भित्री कुराको भण्डाफोर, माफियाहरूबाट सञ्चालित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा.गोविन्द केसी मेडिकल माफियाहरूद्वारा सञ्चालित भएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा राष्ट्रिय ट्रमा सेन्टरको कार्यक्रममा मन्त्री बस्नेतले डा.केसीले बेलाबेलामा अनसन बस्ने कुरा देश र जनताको अहितमा भएको बताए । उनले मेडिकल गिरोहजस्ता गलत मान्छेहरूको फन्दामा परेर डा.केसीले अनसन गरिरहेको बताए ।

मन्त्री बस्नेतले त्यस्ता अभियानको बचाउमा नलाग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आग्रह गरेका छन् ।

‘नेपाललाई मेडिकल शिक्षाको हब बनाएर राख्न सक्ने हैसियत, तागत र वातावरण हामीसँग हुँदाहुँदै पनि हामीमा बुद्धिमा खिया लागेर हो वा कसैको दलाली गर्न लागेर हो वा कसैको बहकावमा लागेर हो’, उनले भने ।

‘हामी हिँडिराखेका छौं । म यो पनि भन्छु–म अनसन बसिदिन्छु भन्नुहुन्छ एक जनाले । उहाँ बस्नु भएपछि तपाई फेरि सेतो कोट लगाएर उहाँको बचाउमा हिँडिहाल्नु हुन्छ’, उनले भने ।

मन्त्री बस्नेतले डा.केसीको अभियानमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आफूले कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

‘यो देशका लागि अहित छ, नेपाली जनताको लागि अहित छ’, उनले भने, ‘अब हामीले यो काम गर्नुहुँदैन । तपाई आफू ठीक मान्छे हो । तपाईलाई सञ्चालन गर्ने गिरोहहरू गलत छ भनेर भन्न किन नसक्ने ?’

नेपाल मेडिकल ‘शिक्षाको हब’ बन्ने शक्ति र वातावरण हुँदाहुँदै पनि डा.केसी र मेडिकल माफियाहरूले त्यसो हुन नदिनका लागि मेडिकल कलेज थप सञ्चालन गर्न नदिएको बताए ।

मन्त्री बस्नेतले यथास्थितिमा ५ वर्षपछि मुलुकमा डाक्टर र नर्स खोज्दा पनि नपाउने स्थिति आउने बताए । उनले आफूले एक सयदेखि ३ सयसम्म शैय्या भएका सरकारी अस्पतालहरूमा नर्स र पारामेडिक्स पढाउने र त्योभन्दा माथि शैय्या भएको अस्पतालमा एमबीबीएससम्मको पठनपाठन गराउने प्रस्ताव गरेको बताए ।

Published : Saturday, 2023 November 25, 11:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया