साँघुटार-सिलौरीघाट सडकको काम नगरे कान्छाराम होस् वा जेठाराम कारवाही गर्छु : सभापति खतिवडा

चम्पादेवी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले साँघुटार–घोरखरी– कोषहाट–ओखलढुङगा हुँदै सिलौरीघाट जोड्ने सडकलाई ओखलढुङगाको ‘लाइफलाइन’ भएको बताएका छन् ।

शुक्रबार चम्पादेवी गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा खतिवडाले साँघुटारदेखि सिलौरीघाटसम्मको सडकलाई छिटो सम्पन्न गर्न दवाव सिर्जना गर्ने जनाएका छन् । उनले सडकको निर्माणका लागि आफू सबै प्रकारको सहयोग र दवाव दिन तयार रहेको बताए ।

सडक छिटो निर्माणका लागि दवाव सिर्जना गर्न चम्पादेवी गाउँपालिकाले शुक्रबार वडा नं. ६ को घोराखरीमा सार्वजानिक सुनुवाईको कार्यक्रम राखेको थियो ।

सुशील कोइराला प्रधानमन्त्री हुँदा आफूले साँघुटारदेखि सिलौरीघाटसम्मको सडकमा योजना र बजेट छुट्याउन लगाएको सभापति खतिवडाले बताए ।

उनले भने, ‘सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । सांसदहरूलाई त्यस बेला एक/एक वटा सडक रोज्नुपर्ने व्यवस्था गरिएको थियो । त्यो बेला मैले साँघुटारदेखि सिलौरीघाटसम्मको सडकको योजना रोजेको हो । त्यस बेला ५ करोड थियो । पछि ७५ करोड थपेर घोराखरीसम्म कालोपत्रेको लागि ठेक्का लागेको छ ।’

आफूले छुट्याएको बजेटमा पछि साँघुटारदेखि सिलौरीघाटसम्मको सडकखण्डमा १ रुपियाँ रकम नआएको खतिवडाले बताए ।

यस पटक आफूले पुन: साँघुटारदेखि सिलौरीघाटसम्मको सडकलाई रातो किताबमा राखेर बजेट छुट्टाउन लगाएको खतिवडाले बताएका छन् ।

सडक कार्यालयका ईन्जिनियरलाई सभापति खतिवडाले गुणस्तरीय सडक निर्माण गर्न निर्देशन पनि दिएका छन् । सडक गुणस्तरीय नबनेमा ईन्जिनियरलाई कारबाही समेत हुन सक्ने चेतावनी उनले दिएका छन् ।

सभापति खतिवडाले सडक निर्माणका लागि योजना ल्याएर पहल गर्दै आए पनि केही विकास विरोध तत्वले सडकलाई कालोपत्रे गर्न खतिवडाले अवरोध गरेको आरोप लागेको थियो । तर, खतिवडाले सडक बनाउन मात्र नभइ योजना नै ल्याएको बताएपछि स्थानीयमा आशा पलाएको छ ।

सभापति खतिवडाले भने, ‘हो म व्यक्तिगत रुपमा राज्य संयन्त्रसँग नजिक छु होला । यो सडक बन्ने कुरामा म ढुक्क छु । ओखलढुंगाको म जनप्रतिनिधि हुँ । सडकको गुणस्तर र समयमा काम सम्पन्न भएन भने कान्छाराम होस् या जेठाराम होस् कारवाही गरेर छोड्ने छु ।’

नेपाली कांग्रेसका सांसद समेत रहेका प्रतिनिधिसभाका सांसद कान्छाराम तामाङले साँघुटारदेखि सिलौरीघाटसम्मको सडक कालोपत्रे गर्ने ठेक्का पाएका छन् । तामाङले समयमा काम नगरेपछि त्यसको अपजस खतिवडाले खेप्नु परेको छ ।

खतिवडाले अब ठेकेदार तामाङलाई कांग्रेसकै नेता भएकै कारण सडक निर्माणको कार्यबाट उन्मुक्ति नदिने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रम चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीको सभापतित्वमा भएको थियो ।

लिखु गाउँपालिकाका अध्यक्ष अशोक कार्की, नेपाली कांग्रेस कोशी प्रदेशका सदस्य रुद्र अधिकारी, नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला कार्यसमितिका सचिव अजय लुइँटेल, सडक डिभिजन कार्यालयका निमित्त प्रमुख सुनिल निरौला, निर्माण कम्पनी कान्छाराम कन्ट्रक्शनका प्रतिनिधि राजन सुवेदीको उपस्थिति रहेको थियो ।

कांग्रेस नेता कान्छाराम तामाङले विभिन्न स्थानमा ठेक्का लिएर समयमा काम नगरेर हैरान बनाएका छन् । तामाङका कारण ओखलढुंगाका सर्वसाधारणले ठूलो सास्ती व्यहोर्नु परेको छ । तामाङ निकै विवादित ठेकेदारमा पर्छन् ।

Published : Saturday, 2023 November 25, 1:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया