दुर्गा प्रसाईँलाई ओलीले सरकारविरुद्ध प्रयोग गरेका छन् : कांग्रेस नेता महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एमाले र माओवादी केन्द्रको पालनकर्ता भएको बताएका छन् ।

शुक्रबार अर्घाखाँचीमा कांग्रेस अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महरले दुर्गा प्रसाईँले चलाएको अराजकतामा एमाले र माओवादी दुवै पार्टीको हिस्सेदारी रहेको बताए ।

नेता महरले राजाका नाममा भइरहेको अराजकताको जिम्मेवार मार्सी चामलको भात खाएर फोटो प्रकाशन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री केपी ओली भएको बताए ।

‘दुर्गा प्रसाईं एमाले र माओवादी केन्द्रको पालनकर्ता हो’, उनले भने, ‘आज अराजकताको जिम्मेवार मार्सी चामलको भात खाएर फोटो प्रकाशन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री केपी ओली हो र हुनुपर्छ ।’

ओली, प्रचण्ड र प्रसाईंबीचको अघोषित सम्बन्धका कारण अहिलेको स्थिति सिर्जना भएको महरले बताएका छन् ।

‘दुर्गा प्रसाईं हालको अवस्थामा पनि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीको बराबर सम्पर्कमा छन्’, महरले भने, ‘उनीहरूको दोहोरो उक्साहटमा दुर्गा प्रसाईंले आन्दोलन गरिरहेका हुन् । यसमा राजाको पनि अप्रत्यक्ष साथ होला । बढी भूमिका दाहाल ओलीकै छ ।’

कांग्रेस नेता महरले भने, ‘ओलीले वर्तमान सत्ताका खिलापमा दुर्गा प्रसाईंलाई प्रयोग गर्न चाहिरहेको देखिन्छ ।’

‘दाहालले दुर्गा प्रसाईंको माध्यमबाट ओलीलाई तर्साउन चाहन्छन्’, उनले भने, ‘पुष्पकमल दाहाल र केपी ओलीका कमजोरीसँग दुर्गा प्रसाईं परिचित छन् ।’

दाहाल र ओलीका कमजोरी प्रसाईंलाई थाहा रहेकाले उनीहरू प्रसाईंको खिलापमा जान नसक्दा अराजकताले प्रशय पाइराखेको महरले बताएका छन् ।

कार्यक्रममा नेताहरू पुष्पा भुसाल, चन्द्र भण्डारी, चन्द्रबहादुर केसी, गगन थापा, अमरसिंह पुन लगायतको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2023 November 25, 12:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया