सामाजिक सञ्जाल प्रयोग गरेर भ्रम फैलाउने प्रयास भयो : अर्थमन्त्री डा.महत

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा.प्रकाशशरण महतले सामाजिक सञ्जाल प्रयोग गरेर जनतामा भ्रम फैलाउने प्रयास भइरहेको बताएका छन् ।

शुक्रबार गृहजिल्ला नुवाकोटमा आयोजित कार्यक्रममा डा.महतले केही व्यक्तिहरूले जनताको भावनामा खेलेर आफ्नो कुन्छित उद्देश्य प्राप्त गर्छु भन्ने कसैले ठानेको छभने त्यो सफल नहुने बताए ।
शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण नेपालमै सिर्जना भइरहेको बताएका छन् ।

डा.महतले भने, ‘नेपालमै विकास हुन्छ, नेपालमै रोजगारीका अवसर बढ्छन् विस्तारै विदेश जानु नपर्ने अवस्था सिर्जना हुन्छ ।’

‘जलविद्युत् आयोजनामा लगानी भइरहेको छ, पर्यटकको संख्या बढ्दैछ’, उनले भने, ‘कृषि क्षेत्रमा लगानी बढ्छ, सुचना प्रविधिमा धेरै युवाहरू लागेर आम्दानी गरिरहेका छन् ।’

उनले खेलकुदलाई सरकारले प्राथमिकतामा राखेको र राष्ट्रिय गौरवको आयोजनामा राखेर क्रिकेट मैदान निर्माण गर्न लागिरहेको बताएका छन् ।

अर्थमन्त्री डा.महतले अन्य खेलकुदको विकास गर्ने सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

डा.महतले भने, ‘नुवाकोट शिक्षामा धेरै पछाडि थियो, हाम्रा पालामा त्रिशूलीमा मात्र एउटा हाइस्कुल थियो, गाउँमा प्राथमिक विद्यालय पनि थिएन ।’

अर्थमन्त्री डा.महतले भने, ‘मैले चौतारामुनि पढ्न सुरु गरेको हुँ । पढ्ने अठोट भयो भने अगाडि बढ्न सकिन्छ ।’

‘पढाइलाई उच्च प्राथमिकता दिन म भाइ बहिनीहरुलाई आग्रह गर्छु’, डा.महतले भनेका छन् ।

‘पढाइ र सिप भयो भने सबै कुरा प्राप्त हुन्छ । पढाइलाई उच्च प्राथमिकता दिनुपर्छ’, उनले भने ।

उनले भने, ‘पढाइलाई प्राथमिकता राख्ने विद्यार्थीका अभिभावले पनि साथ दिनु हुनेछ । पढाइ भयो भने प्रगति गर्नबाट कसैले रोक्न सक्दैन ।’

‘नुवाकोटमा पछिल्लो समय धेरै विकास भएको हो । तत्कालीन अर्थमन्त्री डा.रामशरण महतका पालामा नुवाकोटमा विकासका धेरै ढोका खुलेको छ’, उनले भने ।

‘म पनि ऊर्जालगायत विभिन्न जिम्मेवारीमा रहेँ, त्यो बेला विजुलीलगायत अन्य विकास विस्तार भयो’, उनले भनेका छन् ।

अर्थमन्त्री डा.महतले भने, ‘अहिल म अर्थमन्त्री हुने अवसर पाएको छु । नुवाकोटको विकासले थप मौका पाएको छ ।’

उनले भने, ‘बालाजु–ककनी–त्रिशुलीबाटो धेरै वर्षदेखि बिग्रिएको थियो, अहिले निर्माणका लागि ठेक्का प्रकृया अगाडि बढिसकेको छ । अब त्यो बाटो पक्की बन्छ । कुमारी जाने बाटोमा पनि बजेट विनियोजन भएको छ ।’

काठमाडौं–छहरे–टोखा बाटो अहिले राम्रो भइसकेको बताउँदै डा.महतले भने, ‘सुरुङमार्ग निर्माणका लागि हामीले बजेट छुटाएका छौं, यसका लागि अर्बौ अर्ब रुपियाँ चाहिन्छ । चिनियाँ सरकारलाई समेत सहभागी गराएर बाटो सम्पन्न गर्ने प्रयासमा हामी लागिरहेका छौं । ढिलोचाँडो यो सुरुङ मार्ग बन्छ भन्ने मलाई विश्वास छ ।’

उनले भने, ‘सुरुङ मार्ग निर्माण सम्पन्न भएसँगै नुवाकोट र काठमाडौंको दूरी छोटो हुनेछ । नुवाकोटमै बसेर काठमाडौं जागिर खान सकिन्छ । गोल्फुभञ्ज्याङसम्म पक्की बाटो निर्माणका लागि बजेट विनियोजन भएको छ ।’

Published : Friday, 2023 November 24, 11:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया