लुम्बिनीमा सेवा प्रवाहलाई प्रभाविकारी बनाउनुस् : मुख्यमन्त्री चौधरी

मसुरिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

बुधबार प्रदेश सरकारका सचिवहरूसँग मुख्यमन्त्रीको कार्यालय, मसुरिया, देउखुरीमा भएको बैठकमा चौधरीले मन्त्रालय र मन्त्रालय मातहत कार्यालयको सेवा प्रवाह प्रभावकारी एवम् छिटो–छरितो बनाउन आवश्यक रहेको बताए ।

उनले कार्यसम्पादनलाई प्रभावकारी बनाई उपलब्धि बढाउनसमेत आग्रह गरेका छन् ।

‘अहिले प्रदेश सरकारको कार्यसम्पादन र उपलब्धि भनेअनुसार राम्रो हुनसकेको छैन’, चौधरीले भने, ‘अब त्यो अवस्था आउन दिनु हुँदैन ।’

उनले भने, ‘सरकारको कामको गति सुस्त भयो, उपलब्धि बढाऊ, भएको प्रगति सार्वजनिक गरौँ । चालु आर्थिक वर्षको अहिलेसम्मको प्रगति, उपलब्धि र खर्च सन्तोषजनक देखिएको छैन ।’

उनले अनावश्यक योजनाभन्दा पनि आवश्यक योजना कार्यान्वयनमा चासो दिनसमेत आग्रह गरेका छन् ।

मन्त्रालयको लक्ष्य र उद्देश्यमा रहेर नीति निर्माण गर्न र सोहीअनुसार काम गर्नसमेत मुख्यमन्त्री चौधरीले आग्रह गरेका छन् ।

त्यहीअनुसार नीति बनाउन र स्रोत परिचालन गर्नसमेत उनले निर्देशन दिएका छन् । योजना कार्यान्वयनका लागि अन्तर मन्त्रालय समन्वय बढाउनसमेत मुख्यमन्त्री चौधरीले निर्देशन दिएका छन् ।

बैठकमा प्रमुख सचिव राधिका अर्यालले निर्देशन कार्यान्वयन गर्न मन्त्रालयको कार्यासम्पादन बढाउन आग्रह गरेकी छिन् ।

उनले अबको समय पूर्णरूपमा कार्यान्वयनको भएको हुँदा त्यसमा दत्तचित्त हुनुपर्नेमा जोड दिएकी छिन् ।

मन्त्रालयका सचिवहरूले मन्त्रालयले योजना र बजेट कार्यान्वयनका लागि नीति, विधि बनिसकेकाले अब काममा लाग्ने प्रतिबद्धता जनाएका छन् ।

Published : Thursday, 2023 November 23, 9:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया