दुर्गा प्रसाइँको प्रदर्शनमा गोली चल्यो, कति भए घाइते र क्षति ? डीआईजी आचार्यको थियो कमाण्ड

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाइँको आन्दोलनका क्रममा पाँच जना प्रहरी कर्मचारी र २३ जना प्रदर्शनकारी घाइते भएका छन् ।

बिहीबार काठमाडौंको बल्खुस्थित बागमती नदीको पुल नजिकै मध्यान्ह १२ बजे केहीबेर झडप भएको प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन भएपछि बल प्रयोग गरेर भिडलाई तितरवितरण पारिएको थियो ।

प्रहरीलाई लक्षित गरेर प्रदर्शनकारी बल्खुबाट कुलेश्वरतर्फ जान खोजेपछि प्रहरीले भिडलाई माइकिङ गरी सम्झाउने क्रममा उत्तेजित भइ ढुंगा प्रहार गर्दा ५ जना प्रहरी कर्मचारीहरू घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ । घाइते प्रहरी कर्मचारीहरूलाई तत्काल नेपाल प्रहरीको अस्पतालमा लगेर उपचार गरिएको छ ।

प्रदर्शनकारीतर्फ २३ जना घाइते भएका छन् । घाइतेमध्ये १७ जनाको सामान्य उपचारपछि डिस्चार्ज भएको छ । अन्य छ जना घाइतेहरूको मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको छ ।

प्रारमभीक विवरणअनुसार प्रहरीको मेघाफोन ३, शिल्ड ११, हेल्मेट ३ वटा र वाटर क्यानन लगायतमा क्षति पुगेको छ ।

भिडलाई नियन्त्रणमा लिन प्रहरीद्वारा वाटर क्याननबाट पानीको फोहरा, अश्रुग्यास १५७ सेल र रवरको गोली ५ राउण्ड प्रहार गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकाको शान्ति सुरक्षा व्यवस्था सामान्य रहेको छ । सुरक्षाकर्मीद्वारा निरन्तर निगरानी तथा विश्लेषण गरि सुरक्षा व्यवस्थालाई मजबुट बनाइएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयका जिल्ला सुरक्षा समितिद्वारा निर्णय गरि तयार गरिएको एकीकृत सुरक्षा योजनालाई काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट संकलन गरि सोही आधारमा सुरक्षाकर्मीहरू परिचालन गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको संयोजकत्वमा चार वटै सुरक्षा निकायका प्रतिनिधि सम्मिलित ‘जेओसीसी’ मार्फत परिस्थितको निरन्तर मूल्यांकन गरिएको थियो । शान्ति सुरक्षा कायम गर्ने विषयमा प्रहरी प्रधान कार्यालय नक्सालसँगको समन्वय, जनशक्ति र लजिस्टिक सहयोग भएको थियो ।

Published : Thursday, 2023 November 23, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया